धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु

 साउन २४, २०७९ मंगलबार २०:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभ्रेकाे धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी 'टेलिमेडिसिन' प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसेन सेवा आज मङ्गलवारदेखि काभ्रेको तेमाल गाउँपालिका ४ मा रहेकाे बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । 

धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिएका थिए । यसबाट झन्डै ४० जना बिरामी लाभान्वित भएका थिए । यस्तो उच्च प्रविधिको टेलिमेडिसिन विधि उपयोग गरेर दुर्गम गाउँका बिमारीले विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष सेवा पाएको सम्भवतः नेपालमा पहिलो भएकाे बताइएकाे छ ।

दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीयवासी तिलक लामाले बताउनुभयाे । उहाँले अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयाे ।  

धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रूपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया