फ्रान्स : गिरोन्डे क्षेत्रको आगो नियन्त्रणबाहिर, पानी खन्याउने विमानसहित १ हजार अग्नि नियन्त्रक परिचालन

 साउन २६, २०७९ बिहिबार १७:०:० | एजेन्सी
unn.prixa.net

फ्रान्सको गिरोन्डे क्षेत्रमा लागेको आगो नियन्त्रणबाहिर गएको छ । लगातार तीन दिनदेखि एक हजार जनाभन्दा धेरै अग्नि नियन्त्रकले पानी बोक्ने विमानसहितको सहायतामा आगो निभाउन प्रयास गरे पनि अवस्था नियन्त्रणबाहिर गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

वाइन उत्पादनको केन्द्र मानिएको गिरोन्डेको बोर्डो नजिकै यो हप्ताको सुरुदेखि भीषण आगलागी भइरहेको छ । यो आगलागी फ्रान्समा अहिलेसम्म भएको ठूला आगलागीमध्येको एक भएको समाचारमा उल्लेख छ । आगलागीका कारण हजारौँ नागरिक घर छाडेर भागेका छन्, दर्जनौँ सार्वजनिक संरचना ध्वस्त भएका छन् भने ६ हजार आठ सय हेक्टरभन्दा धेरै जङ्गल क्षेत्र खरानी बनेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले थप पाँच युरोपेली सहयोगीहरूले आगो निभाउने अग्नि नियन्त्रकहरूलाई मद्दत गर्ने वाचा गरेको बताउनुभएको छ । फ्रान्सेली अग्नि नियन्त्रण निकाय एफएनएसपीएफका अधिकारी ग्रेगरी एलियोनले गिरोन्डेको आगलागी आफ्नो जीवनकै सबैभन्दा भयानक रहेको बताएका छन् । गिरोन्डेको आगलागीले फ्रान्ससहित केही युरोपेली क्षेत्रको तापक्रम बढेको छ । आज तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने चेतावनी जारी भएको छ ।  

गएको जुलाईमा पनि गिरोन्डेमा लागेको आगोले २० हजार हेक्टर क्षेत्रफल ध्वस्त भएको थियो भने ४० हजार मानिस विस्थापित भएका थिए । यो वर्षमात्रै फ्रान्समा ५७ हजार दुई सय हेक्टर क्षेत्रमा आगलागी भएको छ । यो सन् २००६ देखि २०२१ सम्म लागेको आगोले पुर्‍याएकाे क्षतिभन्दा पनि धेरै हो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया