फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे : मेयर साह

 साउन २६, २०७९ बिहिबार १८:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताउनुभएको छ । काठमाण्डौ महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेकाे एम्बुलेन्स रोके सरह नै हुने बताउनुभएको हो ।  

उहाँले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताउनुभयो । कारबाही नभएमा अराजकता फैलिने मेयर साहकाे भनाइ छ ।

 याे पनि पढ्नुहाेस्

सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् । यसै सन्दर्भमा मेयर साहले फोहरबाट दुर्गन्धित नफैलियोस् भनेर सम्झौता भएअनुसार काठमाण्डौ महानगरपालिकाले आफ्नो काम गर्दै आएको पनि बताउनुभयो । पोस्ट क्लोजर (फोहर फासिलसकेपछि गर्ने व्यवस्थापन) र बाटो मर्मतका लागि बर्खाको समय भएकाले अलि समस्या देखिएको उहाँको भनाइ छ । अहिले तीनपिप्ले बालाजुको बाटो बनिरहेको छ । 

काठमाण्डाैकाे फाेहर व्यवस्थापनमा पटक–पटक अवराेध हुँदै आएकाे छ । गएकाे मङ्गलवार फाेहर बाेकेर बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड भएकाे थियाे । 

पालिकाको चुनावभन्दा तीन/चार महिना अगाडिदेखि नै फोहर थुप्रिएको र अहिले बाटो मर्मतको काम भइरहेकाले महानगरको फोहोर व्यवस्थथापनमा ढिलाइ भएकाे देखिएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया