विदेश पठाइदिने भन्दै २२ लाख रुपैयाँ ठगी, २ जना पक्राउ

 साउन २९, २०७९ आइतबार २०:२७:३४ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज आइतवार दुई जनालाई पक्राउ गरेको छ । 

बेलायत पठाइदिने लोभ देखाएर १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डाै महानगरपालिका २९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति तीन लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ । 

यस्तै दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाण्डाैकाे टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

वर्किङ भिसामा दुबई जानका लागि सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक एक लाखसम्म तलब हुने भनी सात लाख ५० हजार रुपैयाँ लिइ उनी फरार भएका थिए । उनलाई पनि त्यही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया