खस भाषाको अभिलेखीकरण गरिने, स्वर र व्यञ्जन वर्ण टुङ्गो लाग्यो

 साउन ३०, २०७९ सोमबार १४:२९:० | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेपाली भाषाको माउ भाषा खस भाषा अभिलेखीकरण गरिने भएको छ । पालिका सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको छ । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि पालिका सरकारले अभिलेखीकरण गर्न पहल थालेको हो ।  

जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगको टोली जुम्लाको सिञ्जामा पुगेर पाँच वटा खस लिपिको मानक प्रमाणित भएको छ । 

अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरेको बताउनुभयो । उहाँले अब पालिका र सरोकारवालाको बैठक डाकेर थप छलफल गर्नेमा जोड दिनुभयो । अब खस भाषाको लिपि भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्युटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको जोड दिनुभयो । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिञ्जामै प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रमसमेत राखिएको गाउँपालिकाले जनाएको छ । 

खस भाषाको उत्थान र विकासका लागि अब ढिला गर्न नहुने र यसमा सबैको सहयोग आवश्यक रहेको धितालको भनाइ छ । 

खस भाषाका वर्ण टुङ्गो लाग्यो  

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीका अनुसार खस भाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताउनुभयो । खस भाषा अभिलेखीकरणका लागि राष्ट्रपतिको प्रतिवेदनमा समेत पठाइएको र अन्य काम भइरहेको उहाँको भनाइ छ ।  

अध्यक्ष अवस्थीका अनुसार खस भाषाका २४ स्वर र ४१ वटा व्यञ्जन वर्ण आयोगले तयार पारिसकेको छ । उहाँले वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरूबाट सहयोग प्रदान भएको बताउनुभयो ।  

जुम्लाका खस भाषाका जानकार चन्दननाथ नगरपालिका १ निवासी रमानन्द आचार्यले डेढ दशकभन्दा बढी समयदेखि सङ्कलन तथा लेखन गरी झन्डै ३५ हजार खस भाषा शब्दको खसिया आखर नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरिरहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया