लमजुङका बजारमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती !

 भदौ २, २०७९ बिहिबार १३:३३:४८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - बजार अनुगमन गर्ने अधिकार स्थानीय सरकारलाई छ । तर पनि लमजुङका पालिकाहरुले खासै बजार अनुगमन गर्न सकिरहेका छैनन् । 

बजार अनुगमन हुन नसक्दा आफूहरुमा मारमा पर्ने गरेको लमजुङका उपभोक्ताहरु गुनासो गर्दछन् । उपभोक्ताको यही गुनासोलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय, लमजुङको सक्रियता र पालिकाहरुको समन्वयमा अहिले बजार अनुगमन हुन थालेको छ ।    

अहिले लमजुङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । लमजुङ प्रशासनको सक्रियता र पालिकाका लगायत अन्य सरोकारवाला निकायको समन्वयमा उपभोक्ताका गुनासोलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको हो ।

हिजाे जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको समन्वयमा सरोकारवालासहितकाे एक टोलीले सुन्दरबजार नगरपालिका-६ खत्रीठाँटीमा रहेकाे विभिन्न १३ पसलको अनुगमन गरेको छ ।

टोलीले किराना पसल, फलफूल पसल, मासु पसल, एग्रोभेट लगायतको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रेका उपभोग्य सामग्री छ्यापछ्याप्ती भेटिएको घरेलु तथा साना उद्योग कार्यालय, लमजुङका प्रमुख मीताकुमारी थापाले बताउनुभयो ।

अनुगमनका क्रममा इजाजत विना नै सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण हुने गरेको, विना दर्ता मापदण्ड विपरीत विभिन्न पसलहरु सञ्चालन हुने गरेको र मूल्यसूची टाँस नगरिएको पनि पाइएको उहाँले बताउनुभयो ।

उपभोक्ता नठगिउन्, अखाद्य पदार्थ उपभोक्ताको भान्छासम्म नपुगोस् भन्ने उद्देश्यका साथ लमजुङ प्रशासनले पालिकाहरुको समन्वयमा सबै पालिकामा बजार अनुगमनलाई तीव्रता दिने लक्ष्य राखेको, त्यही अनुसार बजार अनुगमनलाई अघि बढाइएको जिल्ला प्रशासन कार्यालय, लमजुङका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी जगदीश मिश्रले बताउनुभयो ।

म्याद गुज्रेका सामग्री अनुगमन टोलीले जफत गरी नष्ट समेत गरेको छ । प्रक्रिया पूरा नगरेकालाई प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो । लमजुङ प्रशासनले यसअघि सुन्दरबजार नगरपालिकाको मिलनचोक, तल्लोबजार, क्याम्पसगेट, सैनिक टोल लगायतका बजार क्षेत्रमा रहेका विभिन्न पसलको अनगुमन समेत गरेको छ । 

समय–समयमा बजार अनुगमन हुनसकेमा व्यवसायीलाई पनि आवश्यक जानकारी मिल्ने, उपभोक्ता पनि ठगिनबाट जोगिने र गुणस्तरीय सामान खरिद र उपभोगमा उपभोक्तालाई निकै सहज हुने भएकाले यसलाई निरन्तरता दिनुपर्ने स्थानीय व्यवसायी देवीप्रसाद अधिकारीले बताउनुभयो ।

व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्न, उपभोक्ता हितलाई मध्यनजर गर्दै बजार व्यवस्थित गर्न बजार अनुगमनको पाटोलाई सम्बन्धित निकायले निरन्तरता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया