त्यो भाँडाकुटी, यो राजनीति !

 भदौ ४, २०७९ शनिबार १५:५८:५३ | दामोदर न्याैपाने
unn.prixa.net

त्यो भाँडाकुटी, यो राजनीति !

हामी सानो छँदा भाँडाकुटी खेल्थ्यौँ
हामी बनाउँथ्यौँ अनि फेरि भत्काउँथ्यौँ
भत्काउँथ्यौँ अनि फेरि बनाउँथ्यौँ 
छिनमै जोड्थ्यौँ अनि छिनमै तोड्थ्यौँ
तोड्थ्यौँ अनि फेरि जोड्थ्यौँ
हामी खेल्थ्यौँ अनि थाक्थ्यौँ
आराम गर्थ्यौँ अनि फेरि खेल्थ्यौँ
हामी ठूलो हुँदै गयौँ 
केही बुझ्दै गयौँ
अनि भाँडाकुटी खेल्न छोड्यौँ ।

हामीलाई लाग्थ्यो भाँडाकुटी बच्चाको खेल हो 
तर हामी गलत रहेछौँ
देशको राजनीति देख्यौँ अनि छर्लङ्ग भयौँ 
भाँडाकुटीको उमेर हद नहुने रहेछ
जसले खेले पनि हुने रहेछ
हामी त भत्काउँथ्यौँ अनि फेरि बनाउँथ्यौँ
तोड्थ्यौँ अनि फेरि जोड्थ्यौँ
तर राजनीतिमा भत्काउने र तोड्ने मात्रै हुँदो रहेछ
एकले अर्कोलाई लडाउने
सकेसम्म पछार्ने हुँदो रहेछ 
हामीलाई नेताले झुक्याइरहेका रहेछन्
माछो माछो भ्यागुतो गरिरहेका रहेछन्
हात्ती आयो हात्ती आयो फुस्सा गरिरहेका रहेछन्
देश सिङ्गापुर र स्विट्जरल्यान्ड बनाउने भन्थे
बोटमै पैसा फलाउने भन्थे
त्यो पैसा टिप्न विदेशी ल्याउने भन्थे
तर त्यो सम्भव नहुने भयो रे
एउटै नाम गरेको दुई वटा देशले मान्छे झुक्किने भयो रे
यिनले गफमाथि गफ पेलिरहेका रहेछन् 
देश बनाउने भन्दै भाँडाकुटी खेलिरहेका रहेछन् ।

हामी एकअर्काका लागि हार्थ्यौँ 
आफू हारेर अरूलाई जिताउँथ्यौँ
तर राजनीतिमा ठिक उल्टो हुँदो रहेछ
उनीहरू आफू जित्न 
पाएसम्म अरूलाई मिच्न
तँछाडमछाड गर्दा रहेछन्
हारालुछ र हानथाप गर्दा गरेछन्
साम, दाम, दण्ड, भेद लगाएर
आर्यघाट नलैजाँदासम्म कुर्सीमा टिक्न
देशलाई नै हराउन खोज्दा रहेछन् 
हामीले सानोमा खेलेको भाँडाकुटी
राजनीतिमा अझै खेलिरहेका रहेछन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया