केपी ओलीबारे सकारात्मक कुरा नगर्न आफ्नाे पार्टीका नेता, कार्यकर्तालाई माधव नेपालकाे निर्देशन

 भदौ ४, २०७९ शनिबार १८:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।

शनिबार काठमाण्डाैमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनु भएको हो । ओलीबारे पोजेटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो । अध्यक्ष नेपालले आफूहरुलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरिको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गर्नु भयो ।

उहाँले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहोर्‍याउनु भयो । अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताउनु भयो । उहाँले पालिका तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढ्ने निर्णय लिएको उल्लेख गर्नु भयो ।

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाइहरुको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गर्नु भयो । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया