फोहरको भागबण्डा : सत्तारुढलाई कुहिने, विपक्षीलाई नकुहिने !

 भदौ ५, २०७९ आइतबार ९:१९:१२ | मिलन तिमिल्सिना
unn.prixa.net

यता हेरे पनि फोहर, उता हेरे पनि फोहर । जता फर्के पनि ह्वास्ह्वास्ती दुर्गन्ध । बल्ल पो हेर्न लायक भए काठमाण्डौका सडक । 

त्यही त, बालेनले जितेपछि खुरुखुरु फोहर उठेर सडक चिटिक्क हुने हो कि भन्ने कत्रो चिन्ता लागिरहेको थियो । बल्ल ढुक्क भयो ।

सडकमा फोहरै भएन भने हामी के हेरेर बस्ने ? कहाँ बसेर के मा खेल्ने ? के देखाएर चुनावमा भोट माग्ने ? के मा टेकेर राजनीति गर्ने ?

फोहर फाल्ने होइन, पाल्ने गर्नुपर्छ । हामीले फोहरलाई पाल्यौँ भनेमात्र फोहरले पनि हामीलाई पाल्छ, हामीले फाल्यौँ भने उसले पनि हामीलाई फाल्छ । त्यसैले साथीहरु फोहर फालेर हामीलाई पनि फाल्ने षड्यन्त्र भइरहेको छ । फोहरलाई फाल्ने हैन, पाल्ने अभियानमा हाम्रो ध्यान जान जरुरी छ ।

त्यसो भए फोहर वर्गीकरण गरेर राखौँ । सबैलाई मिल्ने गरी भागबण्डा गरौँ। 

विपक्षीलाई पनि दिनुपर्ने होला । फेरि हामीलाई खै भनेर निहुँ खोज्लान् । 

हामी सत्तारुढ दल, डाडुपन्यौ हाम्रै हातमा छ । राम्रो फोहर जति आफ्नै भागमा राखौँ, बढी भएको फोहर विपक्षीलाई छुट्याउँला ।

त्यसो भए हामी चाहिँ कुहिएको फोहर राखौँ । दुर्गन्ध पनि धेरै हुन्छ, हाम्रो व्यवहार र कामसँग पनि मेल खान्छ । विपक्षीलाई चाहिँ नकुएिको छुट्याऔँ ।

कुहिने पनि क कसलाई कसरी भाग लगाउने त ? सत्तारुढमा गठबन्धनमा पनि भाग खोज्ने धेरै भए । हुँदाहुँदा वामदेव र बाबुरामलाई पनि छुट्याउनुपर्ने भयो ।

अरुका कुरा अहिलेलाई छाडौँ । हामी कांग्रेस, सत्ताको डाडुपन्यौ हाम्रो हातमा छ । त्यसैले फोहरमा मिसिएको खेर गएको भात तरकारी चाहिँ हामीलाई हुनुपर्छ ।

सत्ताको चाबी त हामी माओवादीसँग छ नि । त्यसैले फोहरमा रहेको मासुको टुक्रा र हड्डी चाहिँ हामीलाई हुनुपर्छ ।

हाम्रो हैसियतलाई अवमूल्यन नगरियोस् । अपमान गरेको हामीलाई मन पर्दैन । हामी एकीकृत समाजवादीलाई पनि मासु र हड्डी चाहिन्छ । माओवादीले भैँसीको मात्रै राखोस्, खसीबोका र कुखुराको कुहिएको मासु र हड्डी चाहिँ हामीलाई हुनुपर्छ । 

गठबन्धनमा हामी जसपा पनि छौँ भन्ने हेक्का होओस् । भात तरकारी र मासु हड्डी सबै अरुले मात्रै राख्ने हो भने हामी चाहिँ गन्ध सुँघेर मात्रै बस्ने ? हाँसकुखुरा या खसीबोकामध्ये एकथरीको हड्डी हाम्रो भागमा पनि हुनुपर्छ । कांग्रेसको भागमा रहेको थोरै भात तरकारी पनि हामीलाई चाहिन्छ ।

अनि हामी जनमोर्चाको भागमा चाहिँ के नि ? अण्डाको बोक्रा मात्रै ? फोहरमा अन्डाको बोक्रा त भेटिन पनि मुश्किल हुन्छ । उब्रिएको भात र मासु चाहिँ ठूला पार्टीलाई मात्रै भाग लगाउन मिल्दैन । सबैलाई सम्मानजनक ढंगले भागबण्डा गर्नुपर्छ ।

त्यसो हुँदैन साथीहरु भात तरकारी र मासु हामीलाई मात्र हुनुपर्छ । 

कहाँ त्यसरी अपमान गर्न पाइन्छ ? सम्मानजनक ढङ्गबाट फोहर भागबण्डा हुनुपर्छ ।

ल त्यसो भए बाटोमा जो जोले जे-जे फेला पार्छ, र जसले फेला पार्छ, फेला पार्नेले राख्ने ।

राख्ने मात्रै होइन, अनुहारमा पनि दल्ने हो ।

अनुहारमा त किन दल्नु पर्यो र ? यसै फोहर लागेकै छ, फोहर नै गन्हाइरहेको छ नि ।

सत्तारुढ दलले कुहिने फोहर चाहिँ आफूले लिएर नकुहिने चाहिँ छोडिदिएको छ भन्ने विपक्षीले चाल पाए । त्यसपछि विपक्षी दलले पनि फोहरको डुङ्गुरमै बैठक गरे ।

ठिकै छ, सत्ता उनीहरुको हातमा छ । उनीहरुकै बहुमत छ । हामीले के गर्न सक्छौँ र ? हामी पनि एकदिन सत्तामा पुग्छौँ । त्यसपछि कुहिने फोहर सबै हामी नै राखौँला । अहिलेलाई बाँकी भएको यही नकुहिने फोहर भाग लगाऔँ।

हामी  एमाले सबैभन्दा ठूलो पार्टी । ठूलो पार्टीलाई ठूलै भाग चाहिन्छ । त्यसैले प्लाष्टिक र फलाम हामीलाई भयो, अरु चाहिँ साथीहरुले मिलाएर राखौँ ।

हैन हैन त्यस्तो हुँदैन । एमालेले प्लाष्टिक मात्र राखोस् । फलाम चाहिँ हामी राप्रपालाई चाहिन्छ ।

अनि हामी चाहिँ के राख्ने नि ? फुटेका सिसा राखौँ भने हात काट्ने डर । त्यसैले फलाम र प्लाष्टिक हाम्रो भागमा पनि चाहिन्छ ।

त्यस्तो हुँदैन । नकुहिने फोहर राखेर त के मज्जा भयो र ? न गिजोल्न पाइने, न सुँघ्न पाइने । त्यसैले साथीहरु म त कुहिएको फोहर पाइने गठबन्धनतिरै मिल्न जाने हो ।

धत् यस्तो फोहरको पनि भागबण्डा हुन्छ ? म त स्वतन्त्रतिर लाग्ने हो ।

को स्वतन्त्र ? बालेनजी र हर्कजीतिर ? उहाँहरुको फेसबुकमा जुहारी हेर्नुस् त । अलिअलि फोहर हामीले उहाँहरुलाई पनि राख्देका छौँ । त्यसैले त लौरोले फोहर कोट्याउँदै एकआपसमा छ्यापाछ्याप गरेर रमाइरहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया