प्रचण्ड र माधव नेपाल देउवाकाेमा कमलरी बस्न गए : भट्टराई

 भदौ ५, २०७९ आइतबार १५:५४:१३ | दीपक भट्ट
unn.prixa.net

फाइल तस्बिर

रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाेमा कमलरी बस्न गएको आरोप लगाउनुभएकाे छ । प्रेस चौतारी नेपाल रामेछापले आइतवार रामेछापको सदरमुकाम मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । 

नेता भट्टराईले गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा लगेर राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गुमाएको बताउनुभयाे । सरकारले नागरिकता विधेयक संसदमा छलफल नै नगरि राष्ट्रपतिको स्वीकृतका लागि पठाएकोमा राष्ट्रपतिले स्वीकृत नगरि पुनः संसदमा नै फिर्ता पठाउँदासमेत जस्ताकाे तस्तै फेरि पास गरेर राष्ट्रघाती काम गरेको उहाँकाे आराेप छ । 

कार्यक्रममा बाेल्दै नेता भट्टराईले आउँदाे चुनावमा एमालेले बहुमतकाे सरकार बनाउने दाबी गर्दै वर्तमान सरकारले पास गरेको नागरिकता विधेयक संशोधन गरेर अघि बढ्ने बताउनुभयाे । त्यस्तै वैवाहिक अङ्गीकृत नागरिकलाई विना सर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि देशमा नभएकाे उहाँले बताउनुभयाे ।

अहिलेको गठबन्धन सरकारले देशलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको सचिव भट्टराईकाे जिकिर छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया