अझै सञ्चालनमा आएन काेटबाडा विमानस्थल

 भदौ १२, २०७९ आइतबार २०:१७:१२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – २०४२ सालमा निर्माण कार्य सुरु गरिएको कालीकोटको कोटबाडा विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । ‘म जन्मेकै साल विमानस्थलको काम सुरु गरेको भन्ने सुनेको हुँ । अहिले म ३६ वर्ष पुगेर ३७ लागेँ, अझै सञ्चालनमा आएको छैन’, नरहरिनाथ गाउँपालिका १ का गणेश विष्टले भन्नुभयो ।

बजेट अभाव र तत्कालीन सशस्त्र द्वन्द्वका कारण भनेअनुसार काम समयमै हुन सकेन । ढिलै भए पनि २०७३ माघ २८ गते परीक्षण उडान भयो । तर त्यसपछि यहाँ कुनै विमान चलेका छैनन् । अहिले विमानस्थलमा कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । 

सदरमुकाम वल्लो डाँडामा र विमानस्थल पल्लो डाँडामा छ । हेर्दा नजिकै देखिए पनि हिँडेर जान झन्डै एक दिन लाग्छ । अहिले भने पालिकाले सदरमुकामबाट विमानस्थल जाने सडक बनाइरहेको छ । सदरमुकामबाट विमानस्थल जान सजिलो होस् भनेर सदरमुकाम मान्मदेखि कोटबाडासम्म केबुलकार जडानको पहल पनि थालिएको छ ।

कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा केबुलकार निर्माणका लागि डीपीआर समेत तयार भइसकेको छ । केबुलकार निर्माणका लागि स्रोतको खोजी भइरहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । अहिले कर्णाली प्रदेशका जीवनबहादुर शाही सङ्घीय सरकारको पर्यटनमन्त्री भएका बेला झन्डै पाँच वर्षअघि विमानस्थलमा एक दिन परीक्षण उडान गरिएको थियो ।

२०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले रास्कोटको सिप्टी पाटन र जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीले मान्मको ताडीमा विमानस्थल बनाउने योजना अघि सार्नुभएको थियो । तर फेरि दुवै जनाले कोटबाडामा विमानस्थल बनाउने सहमति गर्नुभयो । तत्कालीन जिल्ला पञ्चायतबाट विनियोजन गरेको एक लाख रुपैयाँबाट विमानस्थल निर्माणको काम सुरु गरिएको थियो ।

सशस्त्र द्वन्द्वको बेला विमानस्थलमा काम गर्ने क्रममा स्थानीय सात जनासहित धादिङ, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको ज्यान जाँदा काम प्रभावित भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया