नेपालका बक्स अफिस पारदर्शी छैनन् : अध्यक्ष खड्का

 भदौ १८, २०७९ शनिबार २०:१८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चलचित्र निर्माता सङ्घको निवर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण एवम् पद हस्तान्तरण गरेको छ । 

शनिवार काठमाण्डौमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष आकाश अधिकारीसहितको टिमले पद हस्तान्तरण गरेको थियो । 
पद हस्तान्तरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बताउनुभयो । अध्यक्ष खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अघिल्लो कार्यसमितिले पाइपलाइनमा राखेका कामलाई हामी पूरा गर्नेछौँ । राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गर्ने हाम्रो पहिलो काम हुनेछ । बक्स अफिस पारदर्शी छैनन्, त्यसलाई पारदर्शी बनाउन हामी लाग्नेछौँ ।’

अध्यक्ष खड्काले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणका लागि आवश्यक काम गरेर देखाउने दाबी गर्नुभयो । अध्यक्ष खड्का निर्माता सङ्घको अध्यक्षमा निर्विरोध चयन हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया