चाडबाड आउँदा परदेशीलाई घरको यादले सताउँछ

 भदौ २३, २०७९ बिहिबार १६:५३:२० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश क्षत्री पोखरा, हाल सिसेल्स ।

परदेशी भूमिमा हुनेलाई जति दसैँको यादले अरूलाई सायदै सताउँदो हो । दसैँ भन्ने बित्तिकै मलाई बालापनको यादले हुरुक्कै बनाउँछ । त्यो बेलाको दसैँ र अहिलेको दसैँ त आकाश जमिनको फरक जस्तो महसुस हुन्छ ।

परदेशमा छु । परदेश लागेदेखि के दसैँ के तिहार । दसैँ नमनाएको त धेरै वर्ष भइसक्यो । अब त ती दिनहरू सपनाजस्तै भयो । तर पनि जब चाडबाड आउँछ यो परदेशीलाई घरको यादले सताउँछ ।

देशमा हुँदा दसैँ नजिकिँदै गर्दा रौनक नै अर्को हुन्थ्यो । मन त्यसै फुरुङ्ग हुन्थ्यो । अष्टमीको दिनबाट नै घरमा खसी बोका काटिन्थ्यो । नवमीको दिन मन्दिर जाने पूजा गर्ने, आफ्नो भाकल र विधि के छ त्यस अनुसार पूजा हुन्थ्यो । मन्दिर परिसरमा मेला नै लाग्थ्यो । त्यो दिन सम्झँदा मात्रै पनि मन खुसी हुन्छ ।

दसैँमा परदेश गएकाहरू पनि गाउँ फर्कंन्थ्यें । कहिले को आउने हो भन्ने प्रतीक्षा हुन्थ्यो । बारिभरी कोदो फुल्थ्यो भने खेतमा धान झुलेर लहलह हुन्थ्यो । जता हे¥यो त्यतै हरियाली हुन्थ्यो । सबै गाउँले मिलेर बाटोघाटोको सरसफाइ गरिन्थ्यो ।

घर लिप्ने पोत्ने माटो लिन गइन्थ्यो । रातो माटो र सेतो कमेरोले लिपपोत गरी भित्ताहरू कति उज्याला बनाइन्थ्यो । हामी त फूलहरूको चित्र पनि कोर्दथ्र्यौं । पिङ हाल्ने चटारो हुन्थ्यो । गाउँमा पिङ हालेको दिनको खुसीयाली नै अर्कै हुन्थ्यो । 

दसैँको टिका थाप्न्न सारा गाउँ डुलिन्थ्यो । ठुलाले कति मज्जाले आशिष् दिनुहुन्थ्यो । आफ्नो गाउँघरमा हतार हतार टीका थापेर मामाघर जाने तयारी हुन्थ्यो । मामाघर पुग्दा त्यो खुसी कति रमाइलो हुन्थ्यो ।

आजकाल त परदेशमा बसेर ती दिनहरू सम्झँदा पनि मन दुख्छ । परिवार नहुँदा न दसैँ आयो जस्तो लाग्छ न त चाडबाड आयो है भन्ने खुसीयाली । फेरि एक पटक त्यही पुरानो दसैँ आए नि हुन्थ्यो झैँ लाग्छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०७९

तपाईको प्रतिक्रिया