कांग्रेस नेताहरुले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण

 भदौ २५, २०७९ शनिबार १७:४९:२१
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउनु भएको छ । 

नेपाली कांग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाणले प्रदेश सभा र प्रतिनिधि सभा चुनावअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनु भएको हो । 

नेपाली कांग्रेसमा आबद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आबद्ध भएको हुनाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र  दायित्व दुवै भएको स्पष्ट पार्नुभयो । उहाँले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आउँदाे चुनावलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको समेत बताउनुभयो । 

गृहमन्त्री खाणले भन्नुभयो, ‘आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्दछ । तर नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आउँदाे चुनाव सुनिश्चित र सुरक्षित गर्ने, यो चुनावलाई शान्ति, सुरक्षा प्रदान गर्ने, चुनाव निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आबद्ध छौँ। गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो। राजनीतिक धर्म र दायित्व हो ।’  

मन्त्री खाणले नेपाली कांग्रेसले चुनावको सिट सङ्ख्या बाँडफाँट गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया