दशैँ बजार : सबैजसो सामानको भाउ बढ्दा उपभोक्ता निराश

 भदौ २७, २०७९ सोमबार ९:३१:४४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

बजारमा दशैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगाे हुँदा उपभोक्ता दशैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् । यस्तै अन्योलमा हुनुहुन्छ, काठमाण्डौ कुलेश्वरकी मञ्जिता श्रेष्ठ पनि ।

दशैँमा बासमती चामल खाने सोच बनाउनु भएकी श्रेष्ठ २० किलोको एक बोरा चामलको तीन हजार ५ सय रुपैयाँ भनेपछि सोच्न बाध्य हुनुभयो । ‘अघिल्लो दशैँमा पनि बासमती चामल नै किनेको हो । तर, त्यो बेला २८ सय रुपैयाँमा एक बोरा चामल किनेकोमा अहिले त्यही चामललाई ३५ सय रुपैयाँ भन्छ,’ उहाँ भन्नुहुन्छ, ‘एक वर्षमा बोरामा ७ सय बढेपछि के खानु बासमती ? अब जिरा मसिनोले चित्त बुझाउनु पर्ला ।’

खुद्रा व्यापार सङ्घको तथ्याङ्क अनुसार अघिल्लो वर्ष भदौमा बजारमा स्टिम जिरा मसिनो चामल किलोको ७५ रुपैयाँ थियो भने अहिले किलोमा १० रुपैयाँ बढेर ८५ रुपैयाँ भएको छ । पोखरेली चामल किलोको ८५ रुपैयाँ रहेकोमा अहिले ९५ रुपैयाँ छ भने लङ्ग ग्रेन बासमती चामल किलोको एक सय ४० रुपैयाँ रहेकोमा अहिले एक सय ५० रुपैयाँ छ ।

चामलमा मात्र नभएर दशैँमा धेरै उपयोग हुने चिउरा, तेल, दाल, जिरा तथा धनियाँमा पनि भाउ बढेको छ । अघिल्लो वर्ष भदौमा एक सय ३० रुपैयाँ किलो रहेको ताइचिन चिउरा अहिले एक सय ५० रुपैयाँ पुगेको छ । चिउरामा किलोको २० रुपैयाँ बढेको छ । त्यस्तै खाने तेलमा सबैभन्दा धेरै भाउ बढेको देखिन्छ । अघिल्लो वर्ष भदौमा दुई सय ५० रुपैयाँ लिटर रहेको तोरीको तेल अहिले तीन सय ७० रुपैयाँ छ । सनफ्लावर तेल लिटरको दुई सय ५० रुपैयाँ रहेकोमा अहिले तीन सय रुपैयाँ छ । भटमासको तेल दुई सय ४० रुपैयाँ रहेकोमा अहिले दुई सय ६५ रुपैयाँ रहेको छ ।

असनमा अन्तभन्दा सस्तो सामान पाइन्छ भनेर पुग्नुभएकी डिल्लीबजार बस्ने सुजना पन्त भन्नुहुन्छ, ‘पहिले पहिले असनमा सामान सस्तो हुन्छ भनेर किन्न आइन्थ्यो । तर, अब त्यस्तो छैन । पोहोरभन्दा ताइचिन चिउरा किलोमा २० रुपैयाँ बढेछ । पहिले एक सय ३० रुपैयाँ किलोको चिउरा अहिले एक सय ५० भन्छ । चिनी नै ९० रुपैयाँबाट एक सय रुपैयाँ पुगेको छ ।’

उहाँ अगाडि भन्नुहुन्छ, ‘अघिल्लो वर्ष जिराको धुलो किलोको चारसय ५० रुपैयाँमा किनेकोमा अहिले त छोइनसक्नु भएछ । छसय रुपैयाँ पो भन्छ त । धनियाँको धुलो पनि पहिले दुई सय ५० रुपैयाँ किलोमा किनेकोमा अहिले तीन सय ५० रुपैयाँ भएछ । किलोमा एक डेढसय महँगो भएपछि कसरी बाँच्ने हो ?’

अघिल्लो वर्षको यसै महिनाको तुलनामा महँगी बढेको कुरामा सहमत हुनुहुन्छ व्यापारी मनोज श्रेष्ठ । कालीमाटीमा ५/७ वर्षदेखि खाद्य वस्तुको थोक तथा खुद्रा दुवै व्यापार गरिरहनु भएका श्रेष्ठ पनि चामललगायत अन्य उपभोग्य वस्तुको सामानको भाउ बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जुनसुकै चामलमा किलोको १० रुपैयाँ बढेको छ भने ताइचिन चिउरा, दाल, तेल चिनी, जिरा, धनियाँ सबैमा भाउ बढेकै छ । समग्रमा भन्दा २५–३० प्रतिशत मूल्य बढेको छ ।’

कोभिड पछाडिदेखि बढ्न थालेको बजार भाउ अहिले पनि रोकिने कुनै छाँट छैन । बजारमा हेर्दा कुन चिजमा भाउ बढ्यो भन्नुभन्दा पनि कुन चिजमा बढेको छैन भन्दा सजिलो हुने देखिन्छ । रुस र युक्रेनको लडाइँपछि खाने तेल र इन्धनको भाउ अत्यधिक बढ्यो । इन्धनको भाउ बढेपछि त्यसको सोझो असर ढुवानी भाडामा पर्यो । ढुवानी भाडा बढ्ने बित्तिकै त्यसको असर सम्पूर्ण उपभोग्य वस्तु तथा सेवामा पर्न गयो ।

‘म व्यापारी मात्र नभएर एउटा उपभोक्ता पनि हो । भाउ बढ्दा मेरोमा पनि व्यापार नै हुँदैन । दशैँको मुखमा नत्र यहाँ मान्छे खुट्टा टेक्ने ठाउँ नै हुन्थेन । अहिले खाली खाली छ ।’ श्रेष्ठ भन्नुहुन्छ, ‘दैनिक उपभोग हुने चिनीमै किलोको ५/१० रुपैयाँ बढेको छ । गेडागुडीमा पनि किलोको ५/१० रुपैयाँ बढेको छ ।’

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ तेल तथा चामलमा अलि धेरै भाउ बढे पनि दलहन तथा अन्य चिजमा भने त्यस्तो उल्लेख्य भाउ नबढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कृषि प्रधान देश भने पनि हामीकहाँ भारतबाट चामल आउने र अहिले भारतमा नै महँगो भएका कारण भाउ बढेको हो ।’

अहिले खाद्य वस्तुको मूल्य बढ्नुमा दशैँको कारण नभएर अन्य विविध कारण रहेको भनाइ छ श्रेष्ठको । चामल तथा अन्य खाद्य पदार्थको भाउ बढ्नुमा पटक पटक बढेको इन्धनको भाउ पनि कारक रहेको उहाँको तर्क छ । श्रेष्ठ अगाडि भन्नुहुन्छ, ‘पटक पटक डिजेल पेट्रोलको दाम बढायो नि त्यसको असर त पर्ने भो नि त । ट्रक भाडा बढ्यो त्यसले पक्कै भाउ बढायो ।’

प्रमुख खाद्य वस्तुको रुपमा रहेको चामलको मूल्य बढ्नुको कारणका रुपमा उहाँ अहिलेको यो समय नयाँ धान नआइसकेको र चामलको अफ सिजन हुनुलाई मान्नुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ, ‘तिहारपछि धान काटेर नयाँ चामल आउने सिजन हो । त्यसैले अहिले चामलको अफ सिजन हो । हरेक साल सिजनको अन्त्यमा नर्मल समयमा भन्दा केही बढ्नु ठिकै हो ।’

अहिले भाउ बढ्दा दशैँ आएर भन्ने अनुमान गरे पनि यो गलत भएको भनाइ छ श्रेष्ठको । ‘इन्धनको भाउसँगै डलरको भाउ पनि बढेकोले डलरमा किन्नुपर्ने जिरा, धनियाँ जस्ता चिजको भाउ पनि केही बढेको छ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘यदि भाउ घटाउने हो भने सरकारले प्रशस्त स्टक राखेर भाउ बढेको थाहा पाउने बित्तिकै बजारमा पठाउनु पर्छ । भारतमा यसै गर्छ । हामीले पनि सरकारलाई यही सुझाव दिएका छौँ । 

लत्ताकपडा पनि महँगो 

गएको ६/७ वर्षदेखि खासा व्यापार गर्दै आउनु भएका सिन्धुपाल्चोकका रोशन खड्का यसपटक दशैँमा लत्ताकपडाको मूल्य बढ्ने बताउनुहुन्छ । कारण बताउँदै उहाँ भन्नुहुन्छ, ‘हामीले दशैँका लागि भनेर ल्याएका लत्ताकपडा चीनको सीमानामा त्यसै अड्किएका छन् । त्यस्ता थुप्रै व्यापारीका छन् । अहिलेसम्म नाका खुल्ने नाम छैन । नाका खुलेन भने त पक्कै महँगो हुन्छ ।’

खड्काका अनुसार अहिले नाका नखुल्दा भारत हुँदै सामान आउने गरेको छ । जसका कारण एक कन्टेनर सामान ल्याउँदा जहाज भाडा नै झण्डै एक/डेढ लाख महँगो तिर्नुपर्छ । ‘यसरी एक/डेढ लाख महँगो हामी व्यापारीले नै तिर्नुपर्ने भएपछि कपडा त्यसै महँगो हुने भइगो नि,’ खड्का भन्नुहुन्छ ।

दशैँका लागि भनेर महाबौद्धमा कपडा किन्न आउनु भएका कालीमाटीका सुदर्शन घिमिरे जिन्स पाइन्ट हेर्दै हुनुहुन्छ । पाइन्टको नाै सय ५० रुपैयाँ भनेपछि घिमिरे भन्नुहुन्छ, ‘अघिल्लो वर्ष दशैँमा आठ सय रुपैयाँमा पनि पाइन्ट नबिकेर व्यापारीहरु को आउला भनेर हेरेर बसेका हुन्थे । अहिले त दशैँ आउन १५/२० दिन बाँकी हुँदै नौसय ५० भन्छ । दशैँको नजिक त झन् कति भन्लान् हो ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘अघिल्लो वर्ष दशैँमा पाँचसय रुपैयाँ भनेको सर्ट अहिले नै छसय ५० रुपैयाँ भन्छ । आठ सय रुपैयाँको जुत्तालाई अहिले हजार रुपैयाँमा घट्नै मान्दैनन् व्यापारी ।’ 

दशैँका लागि चहिने नयाँ लुगा विशेष गरी सर्ट पाइन्टको माग पछिल्लो समय चीनबाट आयात हुने तयारी कपडाले लिने गरेको थियो । तर, अहिले चीनमा नै कपडा महँगो भएको तथा नाका बन्द भएका कारण दशैँमा लत्ताकपडा अझै महँगो हुनसक्ने व्यापारी खड्काको भनाइ छ ।

अहिलेको मूल्यवृद्धिले सबैभन्दा पीडित उपभोक्ता रहेको र तीन सय प्रतिशतसम्म मूल्यवृद्धि भएको बताउनुहुन्छ उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णु तिमल्सिना । उहाँ भन्नुहुन्छ, ‘खाद्यान्न, तरकारी मात्र नभएर अहिले सबै कुरामा मूल्यवृद्धि छ । अहिले बजारमा मूल्यवृद्धिको शृङ्खला यति धेरै बढेको छ कि त्यसले नेपाली उपभोक्ताले भार धान्न सक्ने क्षमता नै राख्दैनन् ।’

कोभिडले क्रयशक्ति गुमाएका उपभोक्ताले बजारको मूल्यवृद्धि थेग्न नसक्ने पनि तिमल्सिनाको भनाइ छ । ‘मूल्य वृद्धिले दशैँ, तिहार कसरी मनाउने भनेर उपभोक्ता चिन्तित छन् । सरकारले प्रभावकारी अनुगमन गर्न सकेको अवस्था छैन, ‘उहाँ भन्नुहुन्छ, ‘सरकारले अहिलेसम्म मूल्य सम्बन्धी नीति नै बनाएको छैन । नीति बनाएर प्रभावकारी अनुगमन तथा नियमन गर्ने काम गरेको भए अहिले यो अवस्था आउने थिएन ।’ 

तिमल्सिना अगाडि थप्नुहुन्छ, ‘तीन तहका सरकार छन् । तर, उपभोक्ता हित संरक्षण गर्न अभिभावकको भूमिका निभाउनु पर्ने सरकार उपभोक्ताप्रति जवाफदेही देखिएन ।’ 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया