‘भीआईपी सवारी’ले सडकमा सास्ती : पूर्व निर्धारित कार्यक्रममासमेत किन ट्राफिक व्यवस्थापन गर्न सकिँदैन ?

 भदौ २९, २०७९ बुधबार १०:८:४२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

कोटेश्वर बस्ने मीना श्रेष्ठलाई सोमवार सुन्धाराबाट कोठा पुग्न झण्डै ४ घण्टा लाग्यो । निजी कम्पनीमा काम गर्ने उहाँ नियमित कार्यालय छुटेर कोठामा जाने तयारीमा हुनुहुन्थ्यो । प्रायः टेम्पोमा जाने उहाँ त्यस दिन पनि टेम्पो त चढ्नु भयो तर, टेम्पो भने गुड्दै गुडेन । कारण चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाण्डौ आइपुग्नु भएको थियो । सडकमा उहाँको सवारी थियो । चिनियाँ उच्चस्तरीय नेताको भ्रमण छ भन्ने कुरा त उहाँले पनि थाहा पाउनुभएको थियो । तर, कतिबेला आउने र के हुने भन्नेबारे उहाँलाई जानकारी भएन र चासो पनि राख्नुभएन । त्यसमाथि उहाँको सवारीको बेला सडकमा गाडी रोकिन्छ भन्ने कुरा पनि कसैले भनेको थिएन ।

जब बेलुका कोठा फर्कने बेला टेम्पो जाममा पर्यो तब मात्र उहाँलाई ली को नेपाल भ्रमणको कुरा झल्याँस्स याद आयो । अब टेम्पो चढेर जाममा परिसकेपछि उहाँको अगाडि टेम्पोमै बसेर समय कटाउने बाहेक अर्को विकल्प भएन । उहाँले पठाओ बुक गर्न पनि नखोज्नु भएको होइन तर पठाओवालाहरुले पनि जाम छ भनेर जान मानेनन् ।

श्रेष्ठ भन्नुहुन्छ, ‘हामीकहाँ जहिले पनि भीआईपीको सवारी भनेर हामीजस्तालाई दुःख दिने गरिन्छ । यत्रा मानिसको वास्ता नगरेर खाली पाहुनाको सवारी भनेर घण्टौँ कुराएको छ । कमसेकम वैकल्पिक बाटो वा केही उपाय अपनाउनु पर्छ नि ।’

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष तथा कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता लीको नेपाल भ्रमणका कारण सोमवार र मङ्गलवार काठमाण्डौको सडक अस्तव्यस्त भयो । आज पनि यसैगरी सडक अस्तव्यस्त भएकाे छ । चिनियाँ नेता लीको सवारी हुने रुटमा मात्रै सडक खाली गराइँदा पनि त्यसको असर काठमाण्डौ उपत्यकाभरि नै पर्ने गरेको छ । सडक अस्तव्यस्त हुँदा काम विशेषले भनेकै समयमा ठाउँमा पुग्नुपर्ने मानिस र बिरामीले समेत सास्ती भोग्नुपर्यो । राति अबेरसम्म गाडी नपाएपछि धेरैजना घण्टौँ हिँडेर गन्तव्यमा पुगे । कतिपय बाटैमा अलपत्र परे ।

उच्चस्तरीय भ्रमण तथा सवारीका नाममा नागरिकलाई अनावश्यक दुःख हुँदैन भन्नुहुन्छ, यातायात विज्ञ आशिष गजुरेल । पूर्व निर्धारित भ्रमण भएको हुनाले योजना बनाएर यसलाई व्यवस्थापन गर्न सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पूर्व निर्धारित भ्रमण भएकोले हामीले योजना बनाएर त्यसको जानकारी नागरिकलाई दिनुपर्थ्याे । त्यसो नगर्दा नागरिकले अनाहकमा दुःख पाउने काम भयो ।’

यस्ता भ्रमणका समयमा वैकल्पिक बाटो पहिचान गरेर त्यसको व्यवस्थापन गरी पहिले नै नागरिकलाई जानकारी दिनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सुरक्षा घेरा हालेर भए पनि यातायात चल्न दिनुपर्छ । यसरी पूरै बन्द गर्नुपर्छ जस्तो लाग्दैन । पूर्व निर्धारित कार्यक्रम भएकोले उहाँ कता जानुहुन्छ, के के कार्यक्रम छ भन्ने हेरेर वैकल्पिक बाटो के हो भनेर मानिसलाई जानकारी गराउनु पर्थ्याे।’

यो आजको मात्र समस्या नभएर पछिपछि पनि यस्ता समस्या आइरहने हुनाले आउँदा दिनमा के गर्ने भन्ने रणनीति अपनाउनु पर्ने भनाइ छ गजुरेलको । उहाँ भन्नुहुन्छ, ‘यस्ता सवारीमा हामीले विशिष्ट व्यक्तिलाई जानुपर्ने रुट कुन हो पहिले पहिचान गर्नुपर्छ । सहज रुट पहिचान गरेर त्यसलाई पूरा वा आंशिक बन्द गर्ने हो भनेर निर्णय गर्नुपर्यो र वैकल्पिक रुटको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

उच्चस्तरीय भ्रमणमा सुरक्षा चुनौती धेरै हुने हुँदा सुरक्षा मापदण्ड अपनाएर विकल्प दिनुपर्ने तर्क छ गजुरेलको । ‘विदेशतिर सबैभन्दा कम प्रयोग हुने बाटोलाई सवारी मार्गको रुपमा प्रयोग गर्ने प्रचलन रहेको छ । विशेषगरी मुख्य सडक बाहेक अरु सडकमा सवारीको व्यवस्थापन गर्ने गरिएको पाइन्छ,’ गजुरेल भन्नुहुन्छ ।

अर्का यातायात विज्ञ तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राचार्य अनिल मरासिनी पनि सवारी हुने बाटोको वैकल्पिक बाटाहरु के के हुन् भनेर पहिले नै जानकारी दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी वैकल्पिक बाटोको बारेमा जानकारी दिँदैनौँ र एकै पटक त्यो ठाउँमा पुग्दा मात्र सवारी रहेको थाहा हुन्छ । सूचना दिएको खण्डमा धेरै मानिसले त्यो बाटो प्रयोग नगरि अन्य वैकल्पिक बाटोको प्रयोग गर्नुहुन्थ्यो ।’

सुरक्षाका कारण सवारी रुटका बारेमा जनाकारी दिन नहुने अवस्थामा बाहेक अन्य सवारीका हकमा भने नागरिकलाई जानकारी दिनुपर्ने उहाँको भनाइ छ  । ‘यसरी जानकारी दिँदा धेरै मानिसले आफ्नै ढङ्गले व्यवस्थापन गर्ने र सवारी जामबाट छुटकारा पाउथेँ,’ मरासिनी भन्नुहुन्छ ।

मानिसको समय अनि तेलको हिसाब गर्दा सवारी जाम निकै महँगो पर्नजाने भएकोले बरु सवारी नै वैकल्पिक माध्यम अर्थात हवाई मार्गको प्रयोग गर्दा सस्तो पर्न जाने भनाइ छ मरासिनीको । उहाँ भन्नुहुन्छ, ‘हेलिकप्टरबाट सवारी चलाए हाम्रा हजारौँ गाडी रोकिने, खर्च बढ्ने तथा मान्छेले दुःख पाउने हुँदैनथ्यो । सवारीको निश्चित समयमात्र नभएर त्यसभन्दा धेरै पछाडिसम्म जाम हुने हुनाले पनि यो उपयुक्त हुनसक्छ ।’

२९ वर्ष ट्राफिक प्रहरीमा सेवा गरी उत्कृष्ट ट्राफिक प्रहरीको पहिचान समेत बनाउनुभएका सीताराम हाछेथु एक मिनेटमा १ सय २८ वटा गाडी/मोटरसाइकल चल्ने ठाउँमा गाडी ठप्प पार्नु समस्याको समाधान नभइ झन् समस्या हुने बताउनुहुन्छ । सवारीमा ट्राफिक जाम कम गर्न उहाँका सुझाव यस्ता छन् :

१) वैकल्पिक बाटोको जानकारी दिने 
२) गाडीकाे चाप हुने बेलामा सकभर सवारीको कार्यक्रम नराख्ने 
३) विमानस्थलबाट नजिकको होटलमा पाहुनाको व्यवस्थापन गर्ने 

अन्तिम अपडेट: फागुन ३०, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया