सुपथ मूल्य पसल सञ्चालनमा आएनन्

 असोज ४, २०७९ मंगलबार २०:३१:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली – साल्ट्र टेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी हरेक वर्ष असोज १ गतेदेखि  सञ्चालन गर्ने गरेका सूपथ मूल्य पसल यस वर्ष अहिलेसम्म पनि सञ्चालनमा आएका छैनन् ।

सुपथ मूल्य पसल सञ्चालनबारे केन्द्रीय कार्यालयबाट कुनै जानकारी प्राप्त नभएकाले पसल सञ्चालनमा नआएको साल्ट्र टेडिङ कर्पोरेशन प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख तथा सहायक महाप्रबन्धक तेजबहादुर कुँवरले जानकारी दिनुभयो । यस वर्ष सुपथ मूल्य पसल सञ्चालनबारे अन्योल देखिएको छ । ‘पत्र आएको छैन, अनि मात्र पसल सञ्चालनको टुङ्गोमा पुग्छौँ’, उहाँले भन्नुभयो । सूपथ मूल्य पसल सञ्चालनबारे जानकारी लिनका लागि दिनहुँ सर्वसाधारण आउने गरेको प्रमुख कुँवरले बताउनुभयो ।  

धनगढी उपमहहानगरपालिका–२ सन्तोषी टोलका पूर्ण बडुवालले दशैँको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइनुपर्ने बताउनुभयो । ‘बजारमा  दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ, सर्वसाधारण मरमा परेका छन्’, उहाँले भन्नुभयो । 

साल्ट्र टेडिङले हरेक वर्ष कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सूपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो । सरकारले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसलको व्यवस्था गर्ने गरेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया