नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या

 असोज ६, २०७९ बिहिबार ११:३७:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।

घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो । जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।

गएको अगस्ट अन्त्यमा उनीहरूले स्थानीय बासिन्दालाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसको हत्या गरेका थिए । संयुक्त राष्ट्र सङ्घको मानव विकास सूचकाङ्कको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजर सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया