व्यापारी र ग्राहकको उस्तै गुनासो–दशैँका कपडा महँगो भए

 असोज ७, २०७९ शुक्रबार १२:१:३७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

खोटाङ स्थायी घर भइ काठमाण्डौ बसोबास गर्दै आउनु भएका महाप्रसाद गेलालले भृकुटीमण्डपमा तयारी लुगा, कपडाको व्यापार गर्न थालेको करिब ५ वर्ष भयो । दुई वर्षअघिको कोरोनाकाल, इन्धनमा भएको मूल्यवृद्धि अनि चिनियाँ पैसाको भाउ पनि आकासिएका कारण लत्ताकपडा अघिल्लो वर्षको दशैँको तुलनामा महँगो भएको बताउनुहुन्छ गेलाल । उहाँ भन्नुहुन्छ, ‘सयको तेल एक सय ८० पुर्याए । गाडी भाडा महँगो भएकोले सबै कुरा महँगो छ । महँगीले गर्दा हामीलाई पनि व्यापार गर्नै गाह्रो छ ।’

नयाँ लुगा लगाएर दशैँ मनाउने नेपालीको परम्परालाई सहज बनाइरहको चिनियाँ कपडा महँगो हुँदा अहिले ग्राहक र व्यापारी दुवै मर्कामा परेको गेलालको भनाइ छ । ‘अहिले हाम्रो पसल त किराना पसल जस्तो भएको छ । १०/२० प्रतिशत नाफा खान पनि मुस्किल छ,’ उहाँ भन्नुहुन्छ, ‘अहिले धेरै गाह्रो छ । कस्टमरलाई डिल गर्न पनि गाह्रो छ । पहिले त किन धेरै भनेको भनेर गाली नै गर्छन् ।’

गेलालको अनुभवले अहिले ग्राहक आएर पहिले लुगाको मोल गर्ने अनि पैसा भन्दा महँगो लागेपछि अरु दुई/चार ठाउँमा बुझेर आएपछि बल्ल किन्ने गर्छन् । उहाँका अनुसार अघिल्लो वर्षको दशैँमा थोक बिक्रेताकहाँबाट ७ सय रुपैयाँमा किनेर ल्याएको पाइन्ट अहिले ८ सय रुपैयाँमा दिन मुस्किल मान्छन् । 

‘अब होलसेलबाटै एउटा पाइन्ट सय रुपैयाँ बढेर आएपछि हामीले पनि आफ्नो केही नाफा राख्नै पर्यो । अरु चिज पनि यसो हेर्न पर्यो,’ उहाँ भन्नुहुन्छ, ‘यसो गर्दा एउटा पाइन्ट कम्तीमा ९ सय रुपैयाँमा बेच्नु पर्छ । अनि ग्राहकलाई अलि बढाएर भन्दा ग्राहक महँगो भनेर भाग्छन् ।’


 
अघिल्लो वर्षको तुलनामा यस पटकको दशैँमा लत्ताकपडामा १/२ सय रुपैयाँ सबैमा बढेको देखिन्छ । कम मूल्यका लत्ताकपडामा यो अवस्था छ भने महँगो मूल्यका कपडामा त्यसै अनुपातको मूल्यवृद्धि देखिन्छ ।

भृकुटीमण्डपमा ज्याकेट तथा पाइन्ट किनेर आउनु भएकी आश्मा राउतलाई पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा कपडा महँगो लाग्यो । राउत भन्नुहुन्छ, ‘अघिल्लो वर्ष पनि मैले बहिनीलाई कपडा किनेर पठाइदेकी थेँ । त्यसबेला ७ सय रुपैयाँमा किनेको पाइन्टलाई अहिले धेरै बार्गेनिङ गरेर हजार रुपैयाँमा ल्याएँ । त्यस हिसाबले अहिले घरमा लुगा पठाउन सकिन्न जस्तो छ ।’

भृकुटीमण्डपको बजारमा जुत्ता हेरिरहनु भएका बानेश्वरका संगम केसी मनपरेको जुत्ता महँगो भएका कारण पसलेसँग मोलामोलाई गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा धेरै त जुत्ता नै महँगो भएको होला । जुत्ता अलि ठिकैको किन्नुपर्यो भने १५ सय रुपैयाँ भन्दा कम छैन । यहाँ त यस्तो छ भने बाहिर मलतिर कस्तो होला ? यसपाला पुरानो जुत्ताले चित्त बुझाउनु पर्ला जस्तो छ ।’

उहाँलाई जुत्ता मात्र नभएर एउटा सेतो सर्टपनि मन परेको छ । उहाँ भन्नुहुन्छ, ‘सर्टको दाम १२ सय रुपैयाँ भन्छ । घटाएर एक हजार रुपैयाँमा दिनुस् भनेको आफ्नै हजार रुपैयाँ पर्छ सय रुपैयाँ त नाफा पनि चाहियो त्यसैले ११ सय रुपैयाँ भन्दा कम हुँदैन भनिरहनु भएको छ ।’


 
बजारमा अहिले देखिएको महँगीलाई चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणपछि खुलेका चीनका उत्तरी नाकाले पनि कमी ल्याउन सकेको देखिँदैन । दशैँका लागि भनेर व्यापारीले अर्डर गरेका सामान नेपाल भित्रन थाले पनि बजार मूल्यमा भने यसले खासै असर गरेको छैन ।

२०४८ सालदेखि महाबौद्धमा चिनियाँ लत्ताकपडाको होलसेल पसल चलाइरहनुभएका विनोद कार्की अहिले नै बजारमा सबै सामान नआइसकोको हुनाले महँगो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले चाइनिज सामान धेरै महँगो छ । अहिले आरएमबी (चिनियाँ पैसा) महँगो छ । भन्सार मूल्यांकन बढेर महँगो छ ।’

दशैँ सुरु हुनै लाग्दा बजारमा चहलपहल त देखिन्छ तर, पसलमा सामान किन्ने ग्राहकहरुको जुन किसिमको भिड हुनुपर्ने हो त्यो भने देखिँदैन । कार्की भन्नुहुन्छ, ‘महँगीका कारण बिक्री धेरै कम छ । अर्को भनेको कोरोनाका कारण मान्छेसँग पैसा छैन । पहिले पहिले सस्तो भएका कारण सबैले किन्थे र व्यापार पनि हुन्थ्यो । अहिलेको तुलनामा अहिले त बिक्री छँदैछैन भन्दा पनि हुन्छ ।’

अहिले व्यापार नहुनुमा भन्सार दर तथा अन्य विविध कारणले सामानको भाउ बढ्नु अनि मन्दीका कारण मान्छेसँग पैसा नहुनु कारक रहेको कार्कीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले त हामी फुर्सदले तपाईँसँग कुरा गरिरहेका छौँ । पहिले त यस्तो भिडभाड हुन्थ्यो भात, खजा खान पनि पाइँदैनथ्यो । दशैँ र जाडोमा त हामी कहिले पनि बिहानको खाना खान पाउँदैनथ्यौँ । अहिले त मोबाइल खेलाएर बस्नुपर्ने स्थिति छ । पहिले यति मान्छे त व्यापार नहुने असार साउनमा पनि हुन्थे । दशैँमा त यहाँ हिँड्ने बाटै हुँदैनथ्यो । मान्छे ठेलेर हिँड्थे ।’

सामान महँगो हुनु अनि मनिससँग पैसा नभएका कारण लगाउनमा भन्दा पहिले खानामा खर्च गर्ने हुनाले पनि व्यापार नभएको उहाँको बुझाइ छ । उहाँ भन्नुुहुन्छ, ‘एक पिस ज्याकेटमा ५/७ रुपैयाँ महँगो भएको छ । पहिले सय रुपैयाँ भन्सार पर्ने पाइन्टको अहिले ५ सय रुपैयाँ पर्छ । अहिले हामीले बेच्दा नै एक पिसको ७/८ सय रुपैयाँ पर्छ । अनि रिटेलमा त झन् महँगो नहुने कुरै भएन । सर्टको पनि त्यस्तै छ ।

’धादिङको खनियावास स्थायी घर भइ अहिले बालाजु माछापोखरीमा बस्ने शोभा तामाङ दशैँका कपडा किन्न महाबौद्ध आउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘पहिलाको भन्दा धेरै महँगो भएको छ । के का कारणले महँगी भएको थाहा छैन । तर, कपडा हेरी हेरी कपडा पिच्छे पचास/सय रुपैयाँ महँगो भएको छ । पहिलेको दशैँको तुलनामा १०/२० प्रतिशत महँगो छ ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया