रुसले कब्जामा लिएका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु

 असोज ८, २०७९ शनिबार ७:२५:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु भएको छ । रुसको भाग बन्ने वा नबन्ने विषयलाई लिएर नागरिकको मत सङ्कलन सुरु भएको बीबीसीले जनाएको छ ।

पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा सुरु भएको मतदान पाँच दिनसम्म चल्नेछ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म ओगट्छन् । रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गरेका छन् ।

अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजना अनुसारको गैरकानुनी जनमत सङ्ग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ । युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक चुनाव हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । युक्रेनी समकक्षी दिमित्रो कुलेबासँग न्युयोर्कमा भएको भेटपछि कुलेबाले ट्वीटमार्फत भेटवार्ताको पुष्टि गर्दै चीनले मतभेद सुल्झाउने माध्यम वार्तालाई जोड दिएको र बल प्रयोगलाई अस्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो । त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण थालेको थियो । रुसले केहीदिन अघि सैन्य परिचालनको घोषणा समेत गरेको थियो।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया