एमाले अध्यक्ष ओली रेल यात्रामा, सेवा सुरु भएपछि पहिलोपटक रेल एक घण्टा ढिला गुड्यो

 असोज ८, २०७९ शनिबार १४:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर जानुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुग्नुभएका अध्यक्ष ओली तीनकौरिया चोकमा पुग्नको लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गर्नुभएको हो । ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको छ ।

जनकपुरधामबाट जयनगरका लागि सधै बिहान ११ बजे रेल गुड्ने गरेकोमा पूर्व प्रधानमन्त्री ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो दिउँसो १२ बजे मात्रै रेल गुडेको हो । रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन ।  ओलीसहित एमालेका नेता तथा कार्यकर्ताका लागि एक सय ४२ वटा टिकेट काटिएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली धनुषा पुग्नुभएको हो । यसैबीच अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने  जनता समाजवादी पार्टी जसपाका १२ जना कार्यकर्ता पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै उनीहरूले विरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया