भुटानमा विदेशी पर्यटकका लागि दुई वर्षपछि प्रवेश खुल्ला

 असोज ८, २०७९ शनिबार १६:१२:४६ | एजेन्सी
unn.prixa.net

भुटानले दुई वर्ष भन्दा लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि देशको सीमाना खुल्ला गरेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटकका लागि प्रतिबन्ध लगाएकोमा कोरोना संक्रमणको जोखिम कम भएसँगै खुल्ला गरेको भुटानी अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटिभीले जनाएको छ ।

कोरोना महामारीका कारण शुरु भएको लकडाउनपछि हिजो पहिलोपटक २३ जना विदेशी पर्यटकहरु भुटानमा पुगेका छन् । विदेशी पर्यटकका लागि खुल्ला गरिएपछिको पहिलो उडानमा थिम्पु पुगेका पर्यटकलाई भुटानले उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको छ ।

यस्तै भुटानले विदेशी पर्यटकका लागि प्रवेश शुल्क पनि बढाएको छ । यसअघि एक जना पर्यटकले प्रतिरात ६५ अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर दुई सय डलर पुर्‍याएको छ । यस अघि भारतीय पर्यटकका लागि प्रवेश शुल्क नलाग्ने गरेकोमा अहिले प्रतिदिन एक हजार दुई सय भारतीय रुपैयाँ कायम भएको छ ।

प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित भुटानले पहिलो संक्रमित भेटिएपछि सन्  २०२० मा सीमाना बन्द गरेको थियो । झण्डै आठ लाख जनसंख्या भएको भुटानमा ६१ हजारलाई संक्रमण भएको र २१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियाे । कोरोना महामारीका कारण भुटानको अर्थतन्त्र धरासायी भएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया