वालिङ मिनि म्याराथनको उपाधि सुजन र पुष्पाई

 असोज ८, २०७९ शनिबार १७:३४:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको वालिङमा शनिवार सम्पन्न भएको मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री पहिलो भएका छन् । त्यस्तै दाङका मनोज रोका मगर दोस्रो र स्याङ्जाका गीरप्रसाद गुरुङ तेस्रो तथा पाल्पाका गिरमान श्रेष्ठ चौथो भएका छन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार, १० हजार र ४ हजार रुपैयाँ नगदसहित शिल्ड र मेडल पुरस्कार पाएका छन् । 

यस्तै महिला तर्फ पुस्पा गुरुङ पहिलो, दिपकला सार्की दोस्रो र ईन्द्रमाया खत्री तेस्रो भएका छन् । उनीहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित शिल्ड र मेडल पुरस्कार प्राप्त गरेका छन् । 

लियोे क्लब अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाको लागि ९ दशमलव ८ किलो मिटरको दौड तय गरिएको क्लबका पूर्व अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको कार्यालय गेटबाट सुरु भएको दाैड वालिङ नगरपालिकाको कार्यालय गेटमा आएर पूरा भएको थियो । मिनी म्याराथनमा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट गरी एक सय २० जना धावकहरुको सहभागिता रहेको थियो । 

देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पुर्‍याइ खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ । स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ म्याराथन प्रतियोगिता आयाेजना गरिएको आयोजक समितिका संयोजक हरि रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया