अलैँचीकाे मूल्य ११ हजार रुपैयाँले घट्याे : बजार व्यवस्थापन गरिदिन सरकारसँग किसानकाे माग

 असोज ८, २०७९ शनिबार १८:३७:३४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – आठ वर्ष पहिले प्रतिमन (४० किलो)को एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएपछि खोल्सीको कालो सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ । नयाँ उत्पादन बिक्री सुरु भएसँगै यो सिजनमा गएकाे वर्ष ताप्लेजुङमा प्रतिमन ३८ हजार रुपैयाँले बिक्री भएको थियो । तर, यस वर्ष भने मूल्य घटेर २७ हजार रुपैयाँमा झरेको छ ।

यो वर्ष उत्पादन बढी हुने देखिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कम माग हुँदा मूल्यमा ह्रास आएको अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बलमणि बरालले जानकारी दिनुभयो । हरेक वर्ष अलैँचीको बजार मूल्यमा उतार–चढाव आइरहने गर्दछ । गएकाे वर्ष दशैँतिहारको सेरोफेरोमा मन (४० केजी) को ५२ हजार रुपैयाँसम्म पनि पुगेको थियो । मूल्य बढेपछि किसान धेरै उत्साहित भएका पनि थिए । तर अहिले अलैँचीको मूल्य घटेपछि किसानमा निराशा छाएको अध्यक्ष बरालले बताउनुभयो ।

अध्यक्ष बरालले नेपाल सरकारलाई कटाक्ष गर्दै भन्नुभयो,- ‘किसानलाई अलैँची सुकाउने भट्टी लगायत सामाग्री बाँडेर अब अलैँचीको बजार नै भएन भने के काम ? त्यसको सट्टा बजारको राम्रो व्यवस्था गरेर सहज रुपमा अलैँची बिक्री हुने वतावरण मिलाए पुग्ने थियो ।’ 

अन्तर्राष्ट्रिय बजारमा रुस–युक्रेनबीचको युद्धका कारण भएकाे आर्थक मन्दीले अलैँचीको माग घटेको व्यवसायी बताउँछन ।  मुस्लिम देश खाडी लगायतका देशले विभिन्न परिकार स्वादिलो पार्न अलैँची  बढी प्रयोग गर्ने हुनाले त्यस क्षेत्रमा यो धेरै बिक्री हुने गरेको थियो । भारत हुँदै खाडि देशमा धेरै अलैँची खपत हुने गरेकोमा भारतबाट नै अलैँचीको माग नआएपछि व्यापारीहरु छक्क परेका छन् । 

अलैँची बढी खपत हुने देश पाकिस्तानमा बाढीको प्रकोप, अफगानिस्तानको आन्तरिक द्वन्द्वका कारणले पनि यसको माग घटेको व्यावसायीहरु बताउँछन् ।  अहिले बजारमा जति माग भइरहेको छ, त्यसको पूर्ति भारत र भुटानबाट भइरहेको अलैँची व्यवसायी दिनेश अधिकारीले बताउनुभयो । 

अहिलेसम्म अलैँची व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच नै छैन । नेपाली व्यापारीले सिधै विश्व बजारमा लगेर बेच्न नपाउने अवस्थाले नेपाली अलैँचीले अपेक्षित मूल्य नपाउने व्यापारीहरुको गुनासो छ । नेपाली अलैँची भारतीय व्यापारीले भारतकै फलको रूपमा आफ्नै ट्रेड मार्कमा अन्य देशमा बेच्ने गर्छन् । भारतीय व्यापारीले भारत र भुटानमा उत्पादित अलैँची बिक्री गरिसकेपछि मात्रै बजार माग भए नेपालबाट मगाउने गरेको व्यावसायीहरु बताउँछन् । 

गुणस्तरका हिसाबले नेपाली अलैँची धेरै राम्रो मानिए पनि बिक्रीका लागि भारतीय व्यापारीको मुख ताक्नु पर्ने बाध्यता चाँडै हटाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता रहेकाे अर्का अलैँची व्यवसायी भद्रबीर रेग्मीले बताउनुभयो । नेपाली अलैँची विश्व बजारमा सहज रुपले बिक्री गर्न पाउने अवस्था आउँदा मूल्य पनि राम्रो आउने व्यापारी रेग्मीको भनाइ छ । यसको लागि चाँडै नेपाली अलैँचीलाई आफ्नै ट्रेडमार्क र मान्यता दिलाउन र पूर्वी नेपालको भारतीय नाका काँकडभिट्टा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापन उपकरण राख्ने व्यवस्था गर्ने हो भने अवस्य पनि नेपाली अलैँची किसानले मूल्य पाउने व्यवसायीहरुकाे भनाइ छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया