बङ्ग्लादेशलाई हराएर दशैँकाे अग्रिम शुभकामना दिने लक्ष्य छ : कार्यवाहक प्रशिक्षक हुमागाईं

 असोज ९, २०७९ आइतबार १५:९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले फाइनल चरणको अभ्यास गरेको छ । टोलीले आज आइतवार बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । 

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि चार गोलरक्षक (किपर) सहित २३ सदस्यीय टोली घोषणा गरेका थिए । उनले गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाललाई राखेका थिए । यस्तै मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी र एरिक विष्ट, स्ट्राइकरमा विमल घर्तीमगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी समेटेर २३ सदस्यीय टोली घोषणा भएको थियो । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बङ्ग्लादेश पछिल्लो समय बलियो बन्दै गएकाले उसलाई हराएर नेपालीहरूको महान् चाड दशैँको अग्रिम शुभकामना दिने लक्ष्य टोलीको रहेको बताए ।  

यद्यपि हुमागाईंले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको गुनासो गरे । बङ्ग्लादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनसायले खेल्ने उनको भनाइ छ । उनले नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू नेपाली फुटबल टोलीको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको बताउनुभयो । 

यस्तै खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिक्षकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए । कुवेतमा भएको एएफसी एसियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य व्यक्त गरेका थिए । नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए । नवयुग मात्र होइन, त्यही भ्रणममा टोलीको कप्तानीको मौका पाएका मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन् । 

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ११ खेलाडीबीच विवाद भएपछि नवयुग र पुजनलाई कप्तानीको मौका दिएका थिए । त्यति बेला अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्समा रहेका किरण चेम्जोङबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीलाई पनि टोलीमा समावेश गर्न नसकिएको बताउनुभयो । उनले टोलीमा नयाँ खेलाडीहरू पनि रहेकाले बङ्ग्लादेशसँगको खेलबाट उनीहरूले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्नसक्ने सम्भावना रहेको सुनाए । 
उनले चार जना किपरलाई राखेकोबारेमा पनि स्पष्टीकरण दिए । केही खेलाडीहरू राम्रोसँग अभ्यास गर्ने र मेहनत गरेर खेल्ने भएका कारण पनि चार जना किपरलाई राख्नुपरेको उनले बताए । राम्राे अभ्यास र कडा मेहनत गरेका कारण उनीहरूलाई हटाउने ठाउँ नरहेको उनले जिकिर गरे । 

त्यस्तै खेलाडी अनन्त तामाङले सबै खेलाडी बङ्गलादेशसँग खेल्नका लागि फिट रहेको बताए । उनले लामो समय खेल नहुँदा सुरुमा केही कठिनाइ भए पनि अहिले सहज बन्दै गएको सुनाए । बङ्गलादेशले नेपाललाई खेलमा चुनौती दिने भन्दै टोलीलाई जिताउनका लागि आफू खेल्ने उनको भनाइ छ । 

अर्का खेलाडी विमल घर्तीमगरले बङ्ग्लादेशको टोली उच्च मनोबलमा रहेका कारण उसले नेपालसामु ठूलो चुनौती दिने बताए । नेपाललाई जिताउने लक्ष्यका साथ आफूले खेल्ने उनको भनाइ छ । अहिले टोलीमा नयाँ र पुराना खेलाडी मिश्रित रहेकाले टोली बलियो र राम्रो बनेको बताए । घरेलु मैदानमा खेल हुन लागेकाले पनि बङ्ग्लादेशलाई हराउने उनको जिकिर छ । 

त्यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक परेका फरवार्ड ऋत्तिक खड्काले आफूलाई धेरै खुसी भएकाले आफ्नो पक्षबाट सकेसम्म राम्रो गर्ने बताए । टोलीमा अभ्यासका क्रममा नयाँ कुरा सिक्न पाएको उनले बताए । 
नेपाल र बङ्ग्लादेशबीचको खेल मङ्गलवार दशरथ रङ्गशालामा हुँदैछ । खेलका लागि बङ्ग्लादेशको राष्ट्रिय फुटबल टोली शुक्रवार नै नेपाल आइसकेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया