परदेशीको दशैँ सम्झना : सबैसँगको भेटघाट, टीका जमरा, पिङ र खानेकुराको असाध्यै याद आउँछ

 असोज १२, २०७९ बुधबार १४:५६:३४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

काठमाण्डौ – कमाउन परदेश गएकाहरू सकेसम्म चाडबाडका बेला स्वदेश फर्किने प्रयास गर्छन् । तर सोचेजस्तो हुँदैन । कतिलाई कम्पनीले बिदा दिँदैन त कतिपयलाई चाडबाडकै बेलामा विदेश उड्नु पर्ने बाध्यता पनि हुन्छ । कतिपय श्रमिक भने आफ्नै समस्याले गर्दा मनले चाहे पनि स्वदेश फर्कन सक्दैनन् । यस्तो अवस्थामा आफू स्वदेश हुँदा मनाएको दशैँसम्झँदै मन बुझाउन पर्ने हुन्छ ।

देशमा जस्तो चाडबाड हुँदैन परदेशमा

कमला पाण्डेय तिवारी, इजरायल । 

यसै पनि परदेश लागेपछि घरमा जस्तो चाडपर्व मनाउन सम्भव हुँदैन । एक त परिवारसँग टाढा रहनुपर्दा मनले मान्दैन । तर पनि साथीभाइ मिलेर यसो पीडा भुलाउने कोसिस भने गर्छौ । तर परिवारभन्दा टाढा रहेर जति नै जे गरे पनि मन खल्लो हुन्छ ।

घरमा ठुलाबडाबाट टीका निधारमा लगाएर आशीर्वाद थप्नुको खुसी भिन्नै हुन्छ । आफूभन्दा सानालाई आशीर्वाद दिँदाको क्षण सम्झँदा पनि मन फुरुङ्ग हुन्छ । घरमा छँदा मनाइने दशैँकाे रमाइलोलाई परदेशको कुनै पनि कुरासँग तुलना गर्न सकिँदैन । तर के गर्नु परिस्थिति जस्तो भए पनि चित्त बुझाउनु बाहेक अन्य विकल्प हुँदैन परदेशीसँग । 

चाडबाड सम्झँदा आँसु खस्छ

सञ्जीव महतो, यूएई । 

मेरो नेपालको घर सिराहा  हो । सबैभन्दा पहिला त सबै जनालाई बडादशैँकाे शुभकामना । विदेशमा नेपालमा जस्तो दशैँ हुँदैन । चाडबाड मनाउन गाउँ जान्छु भनेर कोसिस गर्दा गर्दै पनि सधैँ सम्भव नहुने रहेछ । नेपालमा छुट्टै रमाइलो हुन्छ । साथीभाइसँग भेट्न, परिवारसँग बस्ने । साथीभाइहरू कहाँ कहाँबाट आउनुभएको हुन्छ ।

सबैजसोलाई भेट्ने यही मौका पनि हो । तर के गर्नु आफ्नो दुःख टार्न परदेशी हुनै पर्‍यो । देशमा हुँदाको रमाइलो सम्झँदा त अहिले परदेशमा आशु नै झर्छ । चाडबाडका बेलामा घर परिवारको सम्झनाले असाध्यै सताउँछ ।

परिवारबाट टाढा भएर परदेशमा काम गर्दा अलिअलि पैसा कमाए पनि मन भने परिवारको साथमा हुँदाजस्तो खुसी हुँदैन । पलपल कठिन हुन्छ । दशैँमात घर आउन सकिनँ । अब छटमा जाने कोसिसमा छु । 

निधार भरी लगाइने टीकाको खुब याद आउँछ

प्रकाश पाण्डेय, यूएई । 

देशमा दशैँकाे रौनक सुरु भएपछि मलाई परदेशमा रहेर निधार भरी लगाएको टीकाको याद आउँछ ।  स्वदेशमा मनाइने दशैँ भनेको परिवारको खुसी हो । परदेश लाग्नुभन्दा पहिला मानेको दशैँ सम्झने हो भने आँखा रसाई हाल्छन् ।

मरुभूमिमा बस्ने हाम्रो आफ्नै बाध्यता हुँदो रहेछ । तर गाउँमा छदा जब दशैँ आउँछ तब नवदुर्गा भवानीको पूजा दशमीको दिन सबै जना भेला भएर लगाएको टीका र जमराको स्थान त यहाँ कमाएको हजारले कहाँ लिन सक्छ र । तर घरको चुलो बाल्नकै लागि भए पनि परदेसिनु पर्ने बाध्यता छ । तर यहाँ मैले पसिना बगाउँदा परिवारमा छाएको खुसी हेरेरै चित्त बुझाउँछु । 

दशैँआयो भन्दै खसी ढालेका दिनहरू मनै भरी छ

रमेश पाण्डेय, पोर्चुगल ।

हामी आफ्नो गाउँ ठाउँ छाडेर परदेश रहरले हैन बाध्यताले नै आएको हो । जब देशमा चाडबाड आउँछ तब परदेशमै भए पनि दशैँका सम्झना आँखै भरी मनै भरी नाच्छ ।

दशैँ आयो भन्दै खसी बोका काटेको, जमरा टीका लगाएर गाउँमा ठुलाबडासँग आशीर्वाद लिएको अनि आफूभन्दा सानालाई टीका लगाइदिएर दक्षिणा दिएको त्यो क्षण अहिले सम्झँदा पनि खुब रमाइलो लाग्छ । कान भरी जमरा, निधार भरी टीका लगाएर अब फेरि कहिले गाउँ गाउँ डुल्ने होला । सम्झँदा पनि अत्यास लाग्छ । 

दशैँमा घरमा पाक्ने खानेकुरा सम्झन्छु

ईश्वर​ घिमिरे, कतार ।

हुन त ज्यान यति बेला खाडीको देश कतारमा छ । यहाँ न दशैँ छ न त कुनै रौनक । तर सामाजिक सञ्जाल हेर्दा मन भने गाउँघरमै पुगेको छ । दशैँमा घर आउन नपाउँदा मन दुखेको छ । तर बाध्यताले सधैँ आफ्नो इच्छा चाहना पूरा हुन नदिने रहेछ ।

परदेश लागेदेखि नै आफूले चाहेको बेलामा घर जान पाएको छैन । त्यसैले पनि जब चाडबाड आउँछ तब गीत सुन्छ । गीतको मिठो धुन र शब्दले पनि गाउँघरमै पुर्‍याउँछ । घरमा दशैँ मनाउँदा डालाभरि सेल रोटी ,अर्सा झिनिया, चीनी रोटी र  विभिन्न परिकार पाक्थें ।

साथमा पक्कु लगाएको मासु पनि हुन्थ्यो । खानेकुरा सँगसँगै अर्को महत्त्वपूर्ण कुरा भनेको परिवारसँगै हुनु हो । यहाँ त साथीभाइ यसो मिलेर रमाइलो गरे पनि देशमा भएजस्तो कहाँ हुन्छ र । तर पनि रमाएजस्तो गर्नुबाहेक हामी परदेशीसँग विकल्प नै के हुन्छ र । 

प्रस्तुती : नारायण कोइराला ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Ramesh Pandey

    Sept. 28, 2022, 8:25 p.m.

    Thank you information share gardinu vayeko ma..Ujyalo Midea ani Narayan Koirala ji...

  •  0 Reply

तपाईको प्रतिक्रिया