शाेभाकर बरालकाे पुस्तक “मैले टेकेको धरती” काे लोकार्पण

 असोज १२, २०७९ बुधबार १३:१५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शोभाकर बरालद्वारा लिखित आत्मकथा “मैले टेकेको धरती” काे लाेकार्पण भएकाे छ। 

शिक्षासेवा, समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालकाे याे पुस्तक एक समारोहबीच शिक्षाविद् जर्ज जोनले पाेखराकाे नवप्रभाव माध्यमिक विद्यालयको सभाकक्षमा लोकार्पण गर्नुभएकाे हाे । 

झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएका बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमा समेट्नु भएकाे छ ।

पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्नुभएको थियो । बरालले लामो समय शिक्षण पेसामा आबद्ध रहेर अवकाशपछि खाली रहेको समयलाई सदुपयोग गर्दै पुस्तक प्रकाशित गरेकाे बताउनु भएकाे छ ।  बरालको यस कृतिले नयाँ र पुराना पुस्ता जोड्ने सेतुको काम गरेको शाहकाे दाबी छ । पुस्तक पढ्दै गर्दा पट्यार लाग्ने ठाउँ नै नभएको बताउँदै उहाँले आफ्नै गाउँ पाखाको परिवेशको याद आउने बताउनु भयो । दुःखका सङ्घर्षहरूका कथाले भरिएको बरालको कृतिले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने प्रेरणा समेत दिएको बताउनु भयो ।

शिक्षाविद् जर्ज जोनले कृति लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउनु भयाे । सबै मान्छेहरूले कर्म गरे पनि कमै मान्छेले मात्रै सत्कर्म गर्ने र  शोभाकार बराल सत्कर्म गर्ने असल अभिभावक र शिक्षासेवी हुनु भएको उहाँले बताउनु भयो ।

उहाँले पुस्तकमा विशेष नयाँ र विशिष्ट कुरा नभए पनि यस कृतिले नयाँ पुस्तालाई आफ्ना पुस्ता, परम्परा र संस्कृतिको बारेमा थोरै भए पनि जानकारी दिने बताउनु भयो ।

कुल १५२ पृष्ठको पुस्तक “मैले टेकेको धरती” लोकार्पण मा १३ ओटा शीर्षकमा अनुभव र अनुभूति सङ्ग्रहीत छन् । पुस्तकमा पोखरा महानगरपालिका, वडा नं २२ ठूलिविणीमा प्रचलित देव कार्यमा गाउने आरती र लोक भजन पनि सङ्ग्रहीत छन् । पुस्तकमा सङ्कलित विभिन्न तस्बिरहरूले थप आकर्षण बढाएकाे छ । 

तीर्थ यात्रादेखि विदेश यात्रासम्मका, स्थानीय थान तथा देवस्थल र लेखकले विभिन्न समयमा प्राप्त गरेका सम्मानको तस्बिरहरू पनि पुस्तकमा समेटिएकाे छ। पुस्तक व्यक्तिको अनुभव र अनुभूति भए पनि पुस्तकले पस्केका विषयवस्तु पुरातात्विक, ऐतिहासिक र सांस्कृतिकजन्य विषयवस्तु हुन् । वर्तमान तथा भावी पुस्ताका लागि निकै महत्त्वपूर्ण हुने विषयवस्तु पुस्तकमा पढ्न पाइन्छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया