विश्वशान्ति स्थापनामा योगदान पुर्याएबापत नेपाली सेनालाई अहिलेसम्म झण्डै साढे एक लाख ‘शान्ति पदक’

 असोज १२, २०७९ बुधबार १३:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्याएबापत अहिलेसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गरेको छ । 

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा स्थापना गरिएका शान्ति मिसनमा रही  जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेबापत सेनाले शान्ति पदक प्राप्त गरेको हो । शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ । 

संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा अहिलेसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल साबित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने देशको सूचीमा दोस्रो वरीयतामा छ ।

विश्वशान्ति कार्यमा अहिले ११ देशका १२ मिसनमा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेबननमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ ।

विश्वका कयाैँ द्वन्द्वग्रस्त देशमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ । संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्त्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया