यात्रुसँग बढी भाडा लिने, 'डबल टिकट' दिएर ठगी गर्ने ३५ जना पक्राउ

‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत गाडी चलाएको पाइयाे’

 असोज १२, २०७९ बुधबार १९:३३:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर, नयाँ बसपार्कमा टिकट काट्दै यात्रु

काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट दशैँका लागि आ–आफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । 

यात्रुसँग बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट दिने लगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिनुभयो । कार्यालयले दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ । 

खराब अवस्थाका गाडी मर्मत नगरि चलाउँदा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँ–ठाउँमा मेकानिकल चेकिङ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो । आज बुधवारसम्मको गाडी खराब अवस्थामा सञ्चालन गर्ने ९८ जनालाई कारबाही गरिएको छ । कतिपय गाडीमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत गाडी चलाएको पाइएको छ ।’

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष  स्थापना गरेको छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताउनुभयो । लामो दुरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् । 

उपत्यकाको ३६ ठाउँमा नियमित जाँच गरिँदै आएकोमा अहिले चाडपर्वमा लक्षित गरेर ३५ ठाउँ थप गरिएको कार्यालयले जनाएको छ । उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र जाँड–रक्सी खाएर चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो ।  

काठमाण्डौ उपत्यकाबाट बाहिरिने नाकाहरूको गाडी  जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने ठाउँमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, जाँड–रक्सी खाएर गाडी चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, गाडीको बीमा गरेको वा नगरेको र गाडीको अवस्था कस्तो छ जाँच गरिरहेको उहाँले जानकारी दिनुभयो । 

दैनिक एउटा–एउटा गरी नाकामा लागुपदार्थ खाएको वा नखाएको सम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले बताउनुभयो । आज तीन जना चालक फेला परेर कारबाही अघि बढाइएको छ । तीव्र गतिमा गाडी चलाएको जाँच भइरहेको छ । क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने गाडीलाई कारबाहीका लागि ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

कार्यालयले बढी किनमेल बजार क्षेत्रमा गाडीको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । न्युरोड क्षेत्रका लागि त्यहाँ जाने गाडीलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

कार्यालयले उपत्यकाबाट बाहिर जाने गाडीलाई पनि जाँड–रक्सी र लागुपदार्थ खाएको वा नखाएको सम्बन्धी जाँच गरिरहेको छ । चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी बाग्मती किनार, बल्खु दोभानलगायत ठाउँमा गाडी डाइभर्ट गरिएको छ भने त्यहाँ आउने गाडीलाई पार्किङको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । 

उपत्यका र उपत्यकाबाहिर चल्ने गाडीलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि विगतका वर्षहरूमा दशैँमा धेरै गाडी बाहिरिएर सडक खुकुलो हुँदा चालकहले बढी गतिमा चलाउने, जाँड–रक्सी मापसे गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो । 

चाडपर्वको समयमा एकै पटक धेरै गाडी बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा गाडी व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ । चाडपर्वको समयमा अरू समयभन्दा बढी जनशक्ति खटाएर सडक जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ । सडकमा गाडी व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दशैँ, तिहारलगायत चाडका समयमा स्वतः ड्युटी गर्दै आएका छन् । उहाँले भन्नुभयो, ‘थोरै सङ्ख्यामा घर गए पनि धेरै दशैँभर पनि खटिने गरेका छन् ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया