गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पछुताे : गण्डकी प्रदेश मन्त्री थापा

 असोज १३, २०७९ बिहिबार १६:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कास्कीले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचेअनुसार काम हुन नसकेको समेत स्वीकार गर्नुभयो । गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोतलगायत क्षेत्रमा गरेको कर वृद्धि चुनावकाे मिति घोषणा भएपछि सच्याएको समेत उहाँले बताउनुभयो । उहाँले बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती भएकाे गुनासो गर्नुभयो । उहाँले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सङ्घीयतापछि पहिलो प्रदेश सरकार भएका कारण केही कमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आउँदा दिनमा अगाडि बढ्ने छौँ ।’

मन्त्री थापाले प्रदेश सभा सदस्यमा निर्वाचित भएदेखि अहिलेसम्म खाइपाइ आएको सेवा–सुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा अहिलेसम्मको रकम सार्वजनिक गर्नुभयो । विसं २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैतसम्म विकास निर्माण र सामाजिक कामा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशसभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष नाै लाख तीन हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक काममा खर्च भएको बताउनुभयो । थापाले सार्वजनिक गर्नुभएकाे विवरणअनुसार विसं २०७४ सालदेखि अहिलेसम्म उहाँको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ । याे रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको भएको उहाँले बताउनुभयो । 

मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा, सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया