दशैँ सुरु भएसँगै पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

 असोज १४, २०७९ शुक्रबार १७:५९:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – दशैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । गएको वर्षकाे तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।

दशैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । दशैँ सुरु हुनुअघि भने डिजेल दैनिक औसत ३५ लाख लिटर खपत हुँदै आएको थियो ।

दशैँ मनाउन मानिसहरु काठमाण्डाै उपत्यका बाहिरिन थालेसँगै काठमाण्डाैका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दशैँ बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ ।

दशैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । 'देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ,' उहाँले भन्नुभयो, 'आवश्यकताअनुसार देशभरका डिपो खुल्नेछन् ।'

दशैँ बिदाका दिन विराटनगरको १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जको मधेस प्रादेशिक कार्यालय, थानकोटको बागमती प्रादेशिक कार्यालय, पोखराको गण्डकी प्रादेशिक कार्यालय, भैरहवाको लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतको कर्णाली प्रादेशिक कार्यालय र धनगढीको सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ ।

यस्तै निगमको झापाको चारआलीको शाखा कार्यालय धनुषाको इन्धन बिक्री डिपो, वीरगञ्जको शाखा कार्यालय, दाङको इन्धन डिपो र दिपायलको शाखा कार्यालय बिदाका दिन पनि आवश्यकताअनुसार खुल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया