गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस् : राजदूत श्रीवास्तव

 असोज १६, २०७९ आइतबार १७:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताउनुभएको छ । 

१५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताउनुभयो । भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने उहाँकाे भनाइ थियाे । गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगाल्ने हो अहिंसा र शान्तिको पथमा समाज रूपान्तरण हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गान्धीजीका नैतिक र आध्यात्मिक मूल्य, विचारधारालाई भारत र नेपाल मात्रै नभइ विश्वका नेताहरूले अघि बढाएका छन् । नेल्सन मन्डेलाले पनि गान्धीजीको विचारधारलाई अँगालेर दक्षिण अफ्रिकाको भेदभावलाई अन्त्य गर्न सक्नुभयो । गान्धीजीले अर्को कुरा गर्नुभएको थियो, जसलाई भारतमा स्वच्छता दिवसको रूपमा मनाइन्छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस, स्वच्छताको एक अभियान लागू गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै, नेपालमा पनि यसको अनुसरण भयो भने राम्रो नै हुन्छ ।’

राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले जीवनमा अनुसरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया