मङ्सिर ४ गतेकाे चुनाव, कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् (विवरणसहित)

 असोज १६, २०७९ आइतबार १७:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।

आयोगको आज आइतवार सम्पन्न बैठकले निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदाता सङ्ख्या र मतदान केन्द्रलाई आधार बनाएर चुनावको खर्चको हद निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । आयोगले प्रतिनिधि सभामा बढीमा ३३ लाख र प्रदेश सभामा बढीमा लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका निर्वाचन क्षेत्रलाई पाँच वटा समूहमा वर्गीकरण गरेर त्यहीअनुसार खर्चको अधिकतम सीमा तोकेको हो । जसअनुसार प्रतिनिधि सभातर्फ २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाखसम्म खर्च गर्न पाइने गरी समूह विभाजन गरिएको छ । यस्तै प्रदेश सभाका निर्वाचन क्षेत्रतर्फ १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको आयोगले जनाएको छ । 

आयोगले खर्च सीमा तोक्दा मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानेको छ । यस्तै मतदान केन्द्र सङ्ख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाण्डाैका निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ गरी पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यस्तै देशका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् भने २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले सबभन्दा धेरै ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

समानुपातिकको हकमा दलहरूले पेस गरेको बन्दसूचीमा सूचीकृत सङ्ख्याअनुसार प्रति–उम्मेदवार दुई लाख रुपैयाँ खर्च गर्न पाइनेछ । प्रदेश सभाका समानुपातिक उम्मेदवारहरूको हकमा एक लाख ५० हजार रुपैयाँ चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया