दशैँको सिजनमा आन्तरिक पर्यटकको रोजाइमा फुङफुङ्गे झरना

 असोज १७, २०७९ सोमबार १९:१६:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैँको बिदामा हिमाली जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङ्गे झरनालाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।

बिदामा घुम्न फुङफुङ्गे सहज हुँदै गएको छ । ताप्लेजुङ जिल्लाको फुङफुङ्गेमा दशैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको मिक्वाखोला गाउँपालिकाले जनाएको छ ।

‘कोभिड–१९ सङ्क्रमणपछि अहिले आन्तरिक पर्यटक बढेका छन् । विस्तारै भ्रमणमा निस्कने बढ्न थालेका छन्,’ मिक्वाखोला गाउँ पालिकाका सूचना अधिकारी गजेन्द्र थलङले बताउनुभयो ।

दशैँको बिदामा फुङफुङ्गे भित्रिने आन्तरिक पर्यटक बढेको उहाँले बताउनुभयो । कोही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका छन । आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका सूचना अधिकारी थलङले बताउनुभयो ।

करिब ३ वर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटक योजना सहित भ्रमणमा आउन थालेका हुन् । विसं २०७६ चैतदेखि नेपालका सबै क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो ।

कोभिड–१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ । अहिले आन्तरिक पर्यटकको रोजाइमा ताप्लेजुङको फुङफुङ्गे झर्ना पर्ने गरेको छ । अहिले पर्यटक फुङ्फुङ्गे आउने समय अनुकूल छ किनकि वर्षा पनि करिब सकिएको र झरना पनि ठूलो रहेकोले आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हने बताइन्छ ।

यस फुङ्फुङ्गे झरनाको तथ्याङ्क संकलन गरी राखिएको छैन । तर पनि वर्षेनी ५० हजार आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ । अबका दिनमा वास्तविक तथ्याङ्क राख्न लागिएको गाउँपालिकाले बताएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया