हराउँदै पिङ संस्कृति : रोटेपिङ संरक्षणमा जुटे लमजुङे युवा

 असोज १७, २०७९ सोमबार २०:४९:४८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ, सुन्दरबजारको शितल बजार । युवाहरुको जमात । दिउँसोको घाम । घामको वेवास्ता गर्दै आपसमा रमाइलो गफ गर्दै रोटेपिङ हाल्न जुटिरहेका छन् सुन्दरबजार नगरपालिका–१०, कोइरालाफाँटका युवाहरु ।

बलियो र भरपर्दो रुपमा पिङ हाल्नका लागि पाको पुस्ताहरु युवाहरुलाई सल्लाह दिइरहेका छन् । अग्रजहरुको सल्लाहअनुसार नै युवाहरु पिङ ठड्याउन, पिङ जडान गर्न जुटिरहेका छन् । गाउँमै रहेका युवाका साथै जागिर, पढाइको सिलसिलामा अन्यत्र रहेका तर दशैँमा घर आएका युवाहरु पिङ हाल्न जुटेका हुन् ।

पिङ राख्ने काममा पाको पुस्ताको संख्या कम देखिन्थ्यो । तर युवाहरुको संख्या भने निकै नै देखिन्थ्यो । यसले हराउँदै गएको पिङ संस्कृति संरक्षणमा युवाहरु जुटेको आभास गराउँथ्यो ।

हराउँदै गएको पिङ संस्कृतिलाई जोगाउन आफूहरु निरन्तर जुटिरहेको लमजुङ सुन्दरबजार कोइरालाफाँटका युवा जीवन अधिकारीले बताउनुभयो ।

‘अन्य ठाउँहरुमा रोटेपिङ हराउँदै गएको छ । सजिलोका लागि लिङ्गे पिङ राख्ने चलन छ । तर हामीहरु बुढापाकाहरुको सल्लाह लिएर बर्सेनी रोटेपिङ राख्न जुटिरहेका छौँ,’ रोटे पिङ हाल्न व्यस्त रहनुभएका अधिकारीले भन्नुभयो ।

पिङ हाल्ने, खेल्ने परम्परा छ, दशैँ तिहारमा । तर पछिल्लो समय गाउँघरबाटै पिङ हाल्ने, खेल्ने परम्परा हराउँदै जान थालेको छ । युवापुस्ताले चासो नदिँदा विस्तारै मौलिक संस्कार, संस्कृति हराउँदै जान थालेको हो । तर हराउँदो पिङ संस्कृति संरक्षणका लागि भने लमजुङका युवाहरु जुटेकोमा संस्कृति प्रेमीहरु खुसी व्यक्त गर्छन् ।

जानकारहरुका अनुसार पहिले दशैँ आउनु अगावै गाउँलेहरु पिङका लागि आवश्यक सामग्री जोहो गर्न लागि पर्दथे । पहिले लिङ्गे पिङका लागि बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने तथा रोटेपिङका लागि आवश्यक काठपात जोहो गर्न गाउँलेहरु जुट्थे । लमजुङका गाउँघरका चोक, चौर, चौतारामा पिङ राख्ने चटारो हुन्थ्यो । पिङ हालिएका ठाउँमा पिङ खेल्नका लागि सबै उमेर समूहका मानिसहरुको घुइँचो नै लाग्दथ्यो । यसले दशैँ तिहारको रौनकता बढाउँथ्यो । मौलिक संस्कृति झल्काउँथ्यो ।

तर पछिल्लो समय पिङ हाल्ने, खेल्ने परम्परा विस्तारै गाउँघरबाटै हराउँदै जान थालेकोमा भने बुढापाका चिन्ता व्यक्त गर्छन् ।

प्रविधिको विकाससँगै ओझेलमा मौलिक संस्कृति

लिङ्गे पिङ कहीँ कतै देखिएता पनि रोटेपिङ भने कमै मात्रामा देख्न पाइन्छ । युवाशक्ति विदेशिनु, आधुनिक प्रविधिको विकास, मौलिक संस्कृति संरक्षणमा युवाहरुको मन नतानिनु लगायतका कारणले पनि पछिल्ला वर्षहरुमा पिङ हाल्ने, खेल्ने परम्परा हराउँदै जान थालेको सुन्दरबजार नगरपालिका १०, धुसेनीका ६६ वर्षका बाबुराम भण्डारीले बताउनुभयो ।

‘पहिले मनोरञ्जनको माध्यम यही पिङ थियो । तर अहिले युवाशक्ति गाउँमा छैनन् । भएकाहरु पनि मोबाइल इन्टरनेटमा मस्त छन् । पिङ हाल्ने, खेल्नेमा उनीहरुको चासो छैन,’ उहाँले भन्नुभयो ।

विशेषगरी रोटेपिङका लागि सीपयुक्त जनशक्तिका साथै युवाशक्तिको खाँचो पर्ने र तुलनात्मक रुपमा समय धेरै खर्च हुने कोइरालाफाँटका तीर्थराज कोइरालाले बताउनुभयो ।

‘नयाँ पुस्तामा खासै यससम्बन्धी ज्ञान, सीप भएको पाइदैँन । नयाँ पुस्ताले रोटेपिङ हाल्ने आवश्यक ज्ञान, सीप सिक्न पनि त्यति धेरै चासो राखेको देखिदैँन । त्यसैले पनि रोटेपिङ गाउँघरबाटै हराउन थालेको छ,’ उहाँले भन्नुभयो ।

पिङ संस्कृतिको बेग्लै महत्व

दशैँ तिहारमा टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने पुराना पुस्ता बताउँछन् । त्यसैले पनि पिङ संस्कृतिको आफ्नै बेग्लै महत्व छ । पिङ हाल्दा धेरैको हातेमालो आवश्यक पर्ने हुँदा यसले स्थानीयमा आपसी सद्भावका साथै मौलिक संस्कृति संरक्षणमा पनि टेवा पुर्याउँछ । त्यसैले यस संस्कृति संरक्षणका लागि पुराना पुस्ताले आवश्यक ज्ञान, सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न र नयाँ पुस्ताले पनि यसप्रति उत्तिकै चासो दिनुपर्ने आवश्यकता देखिन्छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया