युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

 असोज १८, २०७९ मंगलबार १६:५८:४७ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ – पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् । 

खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बाग्लुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । 

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो । 

उहाँले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यावसायिकरूपमा अकबरे खुर्सानी उत्पादन गर्नुहुन्छ र यसको अचार बनाएर 'ब्रान्डिङ' समेत गर्दै आउनुभएको छ । 

‘मेरो मुख्य पेसा त सुन्तला खेती हो तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ, कृषि भ्रमण तथा अवलोकनको समयमा व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गरेको देखेर तीन वर्षअघि पर्वतको पातीचौरबाट एक सय वटा बिरुवा लिएर लगाएको थिएँ’, किसान खड्काले भन्नुभयो, ‘अहिले अकबरे खुर्सानीको हरियो दाना केजीको चार सय ५० र अचार बनाएर 'प्याकेजिङ' गरेको आधा केजीको चार सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छु, यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अस्ट्रेलिया पुगिसकेको छ ।’

खड्काले खुला ठाउँमा भन्दा प्लास्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर बिक्री/वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने बताउनुभयो । उहाँका प्लास्टिक टनेलमा अहिले झन्डै आठ सय वटा अकबरे खुर्सानीका बिरुवा छन् । 

उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यावसायिक सहकारी संस्थाको ब्रान्डमा  बिक्री गर्ने गरिएको छ । उहाँले सहकारीमार्फत संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । खड्काले यो वर्षमा एक लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । 

अकबरे खुर्सानीको स्वदेश र विदेशमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्कासमेतले अकबरे खुर्सानी उत्पादन गर्न थाल्नुभएको छ । तीन जना किसानले नै उत्पादन गरेको खुर्सानी सहकारीको ब्रान्डमा अहिले अचार बनाएर बजार पठाउने गर्नुभएको छ । 

सहकारीले एक हजार आठ सय वटा खुर्सानीका विरुवा आउँदाे वर्ष वितरण गर्ने र सहकारीमार्फत ब्रान्ड बनाएर बिक्री गर्ने योजनामा सहकारी रहेको सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष ५० हजार रुपैयाँ बराबरको अकबरे खुर्सानीको अचार बिक्री गर्ने लक्ष्य रहेको शिव खड्काले बताउनुभयो । 

भान्सामा स्वाद र पिरोका लागि रूचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र विदेशी बजारमा पनि माग बढ्दै गएको उहाँहरूको भनाइ छ । अकबरे खुर्सानी बढी पिरो हुने भए पनि स्वास्थ्यमा असर नगरेर फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्दै आएको यसका किसानको अनुभव छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया