पहिरो गएपछि गुल्मीका ग्रामीण सडक बन्द, दशैँकाे टीका थाप्न जानेहरू समस्यामा

 असोज १९, २०७९ बुधबार १४:५५:१६ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रिडी–वामीटक्सार सडक बन्द भएकाे छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका ५ को बाँदरे भिर र ६ को डहरेमा पहिरो खसेपछि आज बुधवार बिहानैदेखि सडक बन्द भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभएको छ । 

त्यसैगरी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी काेरिडोर पनि बिहानैदेखि बन्द छ । कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक बन्द भएकाे हो । वर्षाका कारण सदरमुकाम तम्घासदेखि मुसिकोट नगरपालिका जाने सडक पनि बन्द भएकाे छ । याे सडक खण्डअन्तर्गत मुसिकोट नगरपालिका ३ काे भङल्याङ्ग र दजाकोटमा सडक माथिबवाट ठूलो पहिरो खसेको प्रहरीले बताएको छ । 

सडक बन्द भएपछि दशैँमा टीका थाप्न र आशीर्वाद लिनका लागि आफन्तकाेमा जानेहरू समस्यामा परेका छन । हिजाे मङ्गलवार बेलुकीदेखि लगातार वर्षा भइरहेको र पानी नरोकिएको हुँदा सडक सञ्चालन गर्न समस्या भएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयाे ।  

यसैबीच लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोलाकाे किनारा र पहिरो जानसक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ । मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र लामो तथा छोटो दुरीको यात्रा नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयाे । 

स्थानीय पालिकाहरूले पनि यात्रुकाे समस्यालाई मध्यनजर गर्दै वर्षा रोकिनासाथ आफ्नो पालिकाभित्रका बन्द सडक तत्कालै सञ्चालन गर्न पहल गर्ने बताएका छन् । वर्षाले कतिपय ठाउँमा सडक भासिएको र सडकमा पहिरो खसेका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडक बन्द भएकाे प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया