देशभर बदली भएर धेरै ठाउँमा पानी पर्दै, अहिले रोकिएका ठाउँमा पनि फेरि पानी पर्ने सम्भावना

 असोज १९, २०७९ बुधबार १५:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित आसपासका केही ठाउँमा पानी रोकिए पनि अझै दुई/तीन दिन वर्षा हुने मौसमविद्ले बताएका छन् । 

आज बुधवार बिहान पानी आएको काठमाण्डौसहित पूर्वका जिल्लाहरूमा दिउँसो पानी रोकिएको छ । तर केहीबेरमा फेरि पानी पर्नसक्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरे पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलाे वर्षादेखि अति भारी वर्षाको सम्भावना छ । 

पछिल्लो दुई दिनयता माैसम बदली भएर देशभर वर्षा भएको छ । बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा असर गरिरहेको माैसमविद् कँडेलले बताउनुभयो ।

वर्षाको लहर पूर्वबाट गण्डकी, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेशसम्म पनि पुगिसकेको छ । धेरै ठाउँमा आज दिनभर वर्षा हुन्छ भने केही ठाउँमा भारी वर्षाको सम्भावना छ । आज बेलुकीदेखि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । अबको तीन दिन मौसममा सुधार हुने सम्भावना कम रहेको भन्दै हिँडडुल गर्दा र खेतीबाली भित्र्याउँदा सावधानी अपनाउन उहाँकाे आग्रह छ । 

अक्टोबर २ सम्म मनसुनी प्रभाव रहने औसत समय रहेकाले त्यसभन्दा तीन दिन ढिला आजसम्म नेपालमा मनसुन कायमै रहेको छ ।

यसैबीच बाँकेमा पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई आज बेलुकासम्म नै उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ । राप्ती, बबई र नारायणी नदी बेसिन क्षेत्रमा धेरै पनि परेकोले प्यूठान, दाङ, स्याङ्जा, कास्की र आसपासका क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया