भारतमा हिमपहिरोमा परी ज्यान गुमाउने पर्वतारोहीको सङ्ख्या १० पुग्यो, अझै १८ जना बेपत्ता

 असोज २०, २०७९ बिहिबार ७:३४:५५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको ज्यान भएको पुष्टि भएको छ ।

आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वितीय’ हिमालको चुचुरोनजिक मंगलवार बिहान गएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए ।

उनीहरूमध्ये चार जना मंगलवार नै मृत अवस्थामा भेटिएका थिए । भारतीय वायु सेना र स्थानीय विपद् निकायले बेपत्ताको खोजी गरिरहेका छन् । उद्धार टोलीले अहिलेसम्म १० जनाको शव फेला पारेको उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा उल्लेख गरेको छ ।

नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट गरी ४२ जना रहेका थिए । तीमध्ये १४ जना घाइते छन् ।

बेपत्ताको खोजी गर्न वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवाललाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको ज्यान गएको पुष्टि गर्नुभएको छ । उहाँले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया