सुन्दरीजलवासीले नै पाएनन् खानेपानी

 असोज २१, २०७९ शुक्रबार ८:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी पानी वितरण गर्ने सुन्दरीजलमा नै पानी नपाएर हैरान भएको छ ।

दशैँको महाअष्टमीदेखि नै धारामा पानी नआएर दुःख पाएको सुन्दरीजलका उपभोक्ताले गुनासो गरेका छन् । रमिलाका पुडासैनी भन्नुहुन्छ, ‘दशैँंको महाअष्टमी अघि नियमित जसो पानी आउने गरेको थियो । तर, अहिले भने आएको छैन ।’

२०२३ साल बनेको वाग्मतीको पानी प्रशोधन केन्द्रबाट वर्षाका समयमा दैनिक १५ करोड लिटरसम्म पानी सुन्दरीजलबाट काठमाण्डौका अन्य ठाउँमा वितरण हुने गरेको छ । तर, त्यहीँका स्थानीयवासीन्दाले पानी नपाएर पुराना धारा, कुवामा पानी खोज्न टाढा टाढासम्म पुग्नुपरेको गुनासो गर्छन् ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले दुई दिन बिराएर पानी दिने तालिका बनाएको दाबी गर्ने गरे पनि मुहान क्षेत्रमै तालिकाअनुसार पानी दिन सकेको छैन ।

मुहान क्षेत्रकै नागरिकले पानी नपाएपछि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिले त्यहाँको स्रोतबाट अन्त पानी लैजान नदिने बताउँदै आएका छन् ।

नगरपालिकाकै धेरै वडामा अहिले पानी नआउने समस्या छ । नगरपालिकाका प्रवक्ता नारायण सुवेदी भने स्थानीय स्रोतको पानीको पहिलो प्राथमिकता नगरवासीलाई दिनुपर्छ भनी कार्यान्वयनमा लागिएको बताउनुहुन्छ ।

मेलम्चीको पानी पनि २६.५ किलोमिटर सुरुङ पार गरेर सुन्दरीजलकै प्रशोधन केन्द्रमा प्रशोधन गरेर काठमाण्डौ उपत्यकामा वितरण गरिन्छ । 

अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ आउने तयारी भएको छ । वर्षाअघि आएको दैनिक १७ करोड लिटर पानी वर्षा रोकिएसँगै फेरि ल्याइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया