अर्घाखाँचीमा पहिरोले २१ घरपरिवार विस्थापित : पाल्पामा घर पुरिँदा दुई जना घाइते

 असोज २१, २०७९ शुक्रबार १०:२४:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अर्घाखाँचीमा पहिरोले २१ घरपरिवारका ९६ जना विस्थापित भएका छन् ।

छत्रदेब गाउँपालिका वडा नम्बर ७ र ८ का १० घरपरिवारका ४६ जना, मालारानी गाउँपालिका वडा नम्बर ६ का ७ घरपरिवारका ३५ जना, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का ३ घरपरिवारका १३ र पाणिनी गाउँपालिका वडा नम्बर ८ का १ घरका २ जनासहित ९६ जना विस्थापित भएका छन् ।

विस्थापित घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

यस्तै दशैँको टीका लगाउन मामाघर हिँडेका सन्धिखर्क नगरपालिका वडा नम्बर–७ का १० वर्षीय बालक समीर पौडेल अझै फेला परेका छैनन् । उनी खर्ज्याङ खोलाको किटेनी पुल नजिकैबाट खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

यसैबीच पहिरोले घर पुरिँदा पाल्पामा २ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–६, मस्यामका नीरबहादुर सारुको घरलाई पहिरोले पुर्दा डेढ वर्षकी अरुषी खासु र २१ वर्षकी विष्णुमाया सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया