भोट माग्न गाउँ पुगेका नेता पँधेरामा डङ्ग्रङ्ग !

 असोज ३१, २०७९ सोमबार ९:१६:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

आमा नमस्कार, सञ्चै हुनुहुन्छ ?

अँ सञ्चै भन्नुपर्यो बाबु, अहिलेसम्म बाँचिएकै छ ।

मलाई चिन्नु भयो त ?

अलि गाह्रो भयो बाबु । यही ठाउँको मान्छेलाई त चिन्थेँ, तर बाबु यो ठाउँको पर्नुभएन कि क्या हो ?

म पनि यही ठाउँकै मान्छे त हो नि आमा । 

यहीँको मान्छेलाई त म राम्रोसँग चिन्छु बाबु । तपाईँ को, कसको छोरा हो भन्नुस् त ।

अब कसको छोरा भनेर त झन् चिन्नुहुन्न आमा । पाँच वर्षअघि भोट हालेर जिताउनुभएको थियो नि, हो त्यही मान्छे हो क्या म ।

ए नेता बाबु पो ! पाँच वर्षमा चिन्नै नसकिने गरि फेरिनुभएछ, अनि कसरी चिन्नु त । 

हिँ हिँ, तेतिसारै फेरिएको पनि छैन आमा ! 

पहिले खानै नपाएको झैँ दुब्लो न दुब्लो पिलन्धरे हुनुहुन्थ्यो, अहिले खाँदा खाँदा धेरै भएर रातोपिरो हुनुभएछ । कताकता टीभीतिर आक्कलझुक्कल देखेझैँ लाग्छ, अरु बेला यता गाउँमा देखिँदैन त ?

अरुबेला त यता गाउँ छ, तपाईँहरुको हुनुहुन्छ भन्ने कुराको याद नै हुन्न नि आमा । यसो पाँच, पाँच वर्षमा झल्याँस्स गाउँको र तपाईँहरुको याद आउँछ । अनि आउनुपर्छ । 

अनि यसपालि चाहिँ के कामले आउनुभयो त बाबु गाउँमा ?

यसपालि पनि म उठेको छु नि आमा थाहा पाउनुभएको छैन ?

अँ उठिरहनुभएको रहेछ, बस्नुस् न त त्यो ढुङ्गामा, कतिबेर उठ्नुहुन्छ ।

अहँ बस्न हुन्न आमा, उठिरहनुपर्छ । बस्यो भने अर्कै उठ्ला भन्ने डर हुन्छ । हिजोआज सितिमिति बस्नै मन लाग्दैन आमा, उठिरहने हो ।

बाबुलाई बस्न मिल्दा पनि उठिरहनु हुँदो रहेछ । हामीलाई चाहिँ बस्ने मन हुँदा पनि उठिरहनुपर्छ । यी यसरी राति नै उठेर पानी लिन आउनुपर्छ । घाँसभकारो, खेतीपातीको काम पनि उठेरै गर्नुपर्छ । राति एकछिन सुत्ने हो, नत्र बस्नै पाइँदैन बाबु ।

अब तपाईँ उठ्ने हैन आमा, तपाईँको सट्टा यी म उठेको छु । 

मेरो सट्टा बाबु उठेर त के होला र ? मेरो सट्टा तपाईँ हिँड्नुहुन्न, मैलेजस्तो पानीपँधेरो र घाँसभकारो गर्नुहुन्न । तपाईँ तपाईँका लागि उठेको, म मेरै लागि ।

आमाले कुरा बुझ्नुभएन । म यसपालि पनि चुनावमा उठेको छु क्या । भोट माग्न आएको तपाईँसँग । फेरि चुनाव आयो नि थाहा पाउनुभएको होला नि ?

खै रेडियोले त चुनाव, टिकट, उम्मेदवार के के भन्थ्यो । हामीलाई हाम्रै दुःख छ । अस्ति दशैँमा छोराबुहारी गाउँ आएका थिए । फर्कने बेलामा झरीमाथि झरी थपियो । बसको टिकट पनि नपाएर कस्तो गाह्रो भएछ ।

टिकट पाउन कहाँ सजिलो हुन्छ र आमा । बसको टिकट होस् या चुनावको टिकट । हामीले पनि बल्लबल्ल फुत्काएको । 

बाबुले त फुत्काइरहनुभएकै छ नि । पाँच वर्षअघि पनि यसैगरी आउनुभाथ्यो । अलि पहिले पनि आएजस्तो लाग्छ । हाम्रो ससुराले पनि तपाईँलाई नि भोट दिनुभएको रे । हामी बुढाबुढीले पनि तपाईँलाई नि दिएको । छोराबुहारीले पनि तपाईँलाई नि दिए । नातिले भोट दिने पालामा पनि तपाईँ नै भोट माग्न आइरहनुभएको छ । बाबुले चाहिँ टिकट खल्तीमै राखेर बस्नुहुन्छ कि क्या हो ?

खल्ती त खल्तीमै हुन्छ, तर ठूला नेताहरुको खल्तीमा हुन्छ क्या आमा । फुत्काउन अनेक  गर्नुपर्छ । आफ्नो पार्टीले दिएन भने अर्को पार्टीमा जानुपर्छ । कहिले ढोग्नुपर्छ, कहिले ठोक्नुपर्छ । कहिले फकाउनुपर्छ, कहिले घुर्क्याउनु पर्छ । धेरैथोक गर्नुपर्छ आमा टिकट पाउन ।

अनि अहिले बाबुको पार्टी पहिलेकै कि नयाँ हो त ?

अस्तिसम्म पहिलेकोमै थिएँ आमा । अन्तिमसम्म टिकट पाइएला भन्ने आशा थियो । तर मेरो भन्दा अर्कैले चाकडी गरेछ, पार्टीले फ्याट्ट उसलाई टिकट दियो । त्यसपछि त्यो पार्टी छोडिदिएँ आमा । अस्ति मात्र हतारहतार अर्को पार्टीमा प्रवेश गरेर टिकट फुत्काएको ।

ए... त्यस्तो दुःख पनि गर्नुपर्छ है बाबु ?

धेरैथोक गर्नुपर्छ आमा कहाँ सजिलो छ र ? पहिलेको ठाउँमा जितिँदैन जस्तो लाग्यो भने अर्कै सजिलो ठाउँ खोजेर पनि दगर्नुपर्छ । विचार मिल्नेसँग नमिलेर विचार नमिल्नेसँग पनि मिल्नैपर्छ । हिजोसम्म सँगै अँगालो मारेर बसेकोलाई लात्ताले हिर्काएर हिजो आफूलाई लात्तो हान्नेसँग पनि अँगालो मार्नुपर्छ । हिजोसम्म त्योजस्तो काम नलाग्ने कोही छैन भनेर गाली गरेकालाई अहिले योजस्तो काम लाग्ने त अरु कोही छैन भनेर ताली पनि पिट्नुपर्छ । 

ओहो ! बाबु के के मात्रै गर्नुपर्ने रहेछ है, कुरा बुझ्नै गाह्रो । बाबुहरुलाई पनि गाह्रो छ ।

गाह्रो छ नि आमा धेरै गाह्रो छ । यति गाह्रो गरेर यहाँसम्म आइपुगेको छ, यसपालि पनि भोट दिनुपर्छ है आमा । 

हाम्रो भोट त पहिले पनि लगेको हो नि बाबु तपाईँले । खै त्यो भोट लगेर के गर्नुभयो त ?

धेरैथोक गर्न लागेको थिएँ आमा । मलाई भोट दिने जति सबैलाई अमेरिका घुमाउन लान्छु भनेर सोच बनाउँदा बनाउँदै त्यहीबेला फ्याट्ट कोरोना आयो । गाडी, जहाज सबै बन्द भयो । कोरोना सकिएपछि लैजान्छु भन्दाभन्दै डेङ्गी आयो, बाहिर निस्कँदा लामखुट्टेको डर हुने भयो । लामखुट्टे नपाइने देश फ्रान्सतिर लैजाने योजना बनाउँदै थिएँ, चुनाव आयो । गर्न खोज्दाखोज्दै षड्यन्त्र भयो आमा । कहिले कोरोनाले षड्यन्त्र गर्यो, कहिले लामखुट्टेले । कहिले विपक्षीहरुले खेदो खने । अब चाहिँ मैले चुनाव जित्नेबित्तिकै सबैलाई घुमाउने हो । बरु आमालाई कहाँ जाने मन छ भन्नुहोस् ।

हामीलाई त कहीँ जान पनि मन छैन बाबु । यही पँधेरो पनि टाढा भयो । घरमा धारा मात्रै छ पानी आउँदैन । बिरामी हुँदा उपचार पाइँदैन । गाउँमा स्वास्थ्य चौकी छ, डाक्टर छैनन् । माथि डाँडापाखासम्म मोटरबाटो पुगेका छन्, तर मोटर गुड्न मुस्किल पर्छ । बाबुहरुलाई जस्तो हामीलाई सरकारी पैसामा घुम्न परेको छैन बाबु । गाउँमै सेवासुविधा भैदिए पुग्छ । 

धारो, अस्पताल, डाक्टर, गाडीको मात्रै के कुरा भयो र आमा । तपाईँ भन्नुस् मात्रै, यही पँधेरो तपाईँको चुल्होमा पुर्याइदिन्छु । घरमै डाक्टर र नर्सको लाइन लगाइदिन्छु । गाडीको के कुरा तपाईँको घर पछिल्तिरको बारीबाट रेल चलाइदिन्छु । 

घरसम्म रेल, जहाज लैजान परेको छैन बाबु । बरु अहिलेलाई यो पानीको गाग्रो घरसम्म पुर्याइदेउ न ।

ओहो ! आमा पानीको गाग्रो पुर्याउने कुरा त मेरो घोषणापत्रमा छैन । तै पनि भनिहाल्नुभयो । अरु उम्मेदवारले पनि धान काट्न, गाई दुहुन सघाएको देखेको थिएँ । ल है साथी हो एउटा फोटो खिचौँ त, मैले पनि आमाको गाग्री बोकेर सघाइदिनुपर्यो ।

बिस्तारै है बाबु बिस्तारै ।

ऐया.....ल लडिहालियो नि आमा । कस्तो गह्रौँ गाग्रो । उठेको मान्छेलाई लडाइदिनुभयो । अहिल्यै यहीँ लडियो, मंसिरमा के पो होला !

अन्तिम अपडेट: पुस २४, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • बिष्णु प्रसाद कंडेल

    Oct. 17, 2022, 11:02 a.m.

    लेख गजब लाग्यो पढदा पढदै यो पक्का मिलन जी को लेख हुनु पर्छ भन्ने लागेको थियो र अन्त्यमा हो रहिछ!!!

  •  0 Reply
  • Saroj Niroula

    Oct. 17, 2022, 9:38 a.m.

    सार्है राम्रो , मन छोयो , तपाइंको लेख साह्रै मन पर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया