एथ्लेटिक्समा आर्मी टिम च्याम्पियन, जयरानीलाई ५ स्वर्ण

 कात्तिक ३, २०७९ बिहिबार १३:४५:२६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । सशस्त्र प्रहरी बलकाे एपीएफ १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जितेर तेस्रो र बाग्मती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो ।

यस्तै लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य गरी ६ पदक जित्दा गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक जित्यो । कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत गरी २ पदक जित्दा सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जित्यो ।

जयरानीलाई ५ स्वर्ण  

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन् ।

उनले टिम इभेन्टमा २ र सिङ्गलमा ३ स्वर्ण जितेकी हुन् । ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिङ्गल, ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।

४ सय मिटर हडल्स, १ सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया