बर्दियामा पाटे बाघ नियन्त्रणमा

 कात्तिक ३, २०७९ बिहिबार १९:८:३३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाकाे ठाकुरबाबा नगरपालिका ६ काे मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट आतङ्क मच्चाउने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जको शिवपुर एकीकृत उपभोक्ता समूह अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ६ र ७ मा पर्ने कालिगौडी, शिवपुर फाँटा, भदेली तथा बलाती गाउँ क्षेत्रमा पाटे बाघले मानिस र जनावरलाई आक्रमण गरिसकेको तथा स्थानीयवासीमा त्रास देखिएकाले नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना, नेपाल प्रहरी, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेषका १५ जना प्राविधिक तथा तीन वटा हात्तीकाे सहयोगमा आज बिहीवार बिहान बाघ नियन्त्रणमा लिएको राष्ट्रिय प्रकृति संरक्षण काेषका प्रमुख डा. रबिन कडरियाले जानकारी दिनुभयो ।

केही महिनाअघि यही बाघको आक्रमणबाट शिवपुर क्षेत्रमा एक जनाको ज्यान गएकाे र  अर्का एक जना घाइते भएपछि घटनास्थल क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी भौतिकरूपमा नियमित अनुगमन गरिँदै आएको थियाे । त्यसपछि समस्याग्रस्त बाघको पहिचान गरी निकुञ्जको विशेष टोलीले पाटे बाघलाई (डार्ट) लठ्याउने सुई प्रयाेग गरी नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयाे । नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारामा रहेको खोरमा सुरक्षित साथ राखिएको उहाँले बताउनुभयो । 

नियन्त्रणमा लिइएको पाटे बाघ झन्डै १६ वर्षको भाले रहेको अनुमान छ । सूचना अधिकारी संजेलका अनुसार नियन्त्रणमा लिइएको बाघ बुढो रहेको, स्वास्थ्यमा समस्या र दाँत तथा नङ्ग्रा भाँचिएको अवस्थामा छ । 

निकुञ्जले अहिलेसम्म आठ वटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग क्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा तीन वर्षयता बाघको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ । 

निकुञ्जले नियन्त्रणमा लिएका समस्याग्रस्त बाघमध्ये बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा दुई र रम्मापुरमा दुई वटा गरी चार वटा बाघ बर्दियामा नै राखिएको छ । यस्तै ललितपुरकाे सदर चिडियाखानामा एक, चितवन राष्ट्रिय निकुञ्जमा एक र बाँके राष्ट्रिय निकुञ्जमा दुई वटा पठाइएकोमा एउटा बाघ खोरबाटै भागेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया