मौसमसँगै खुलेको लमजुङ घलेगाउँ (फोटो फिचर)

 कात्तिक ५, २०७९ शनिबार २०:४५:२६ | श्यामशितल परियार
unn.prixa.net

प्राय:  उस्तै बनोटका घर । सबै घर रातो जस्ताले छाइएका छन् । टाढैबाट नियाल्दा गुचुमुच्च झैँ देखिने बस्ती। मुसुक्क मुस्कुराएका हिमाल समीपमै रहेको लमजुङको सुन्दर घलेगाउँ। घलेगाउँ पुगेर यहाँको प्रकृति र संस्कृति नियाल्दा मन र नयन दुवैलाई आनन्दित तुल्याउँछ । खुलेको यो मौसममा घलेगाउँको प्राकृतिक सौन्दर्यले जो कोहीलाई भुतुक्कै बनाउँछ । त्यसैले त यस गाउँमा सयौँ संख्यामा पर्यटक आइरहन्छन् । घलेगाउँको प्रकृति र संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गर्न ।

नेपालकै पहिलो सुखी गाउँ घोषित घलेगाउँमा अहिले दैनिक गाउँमा एक सय ५० जना हाराहारीमा पर्यटक आउने गरेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ लमजुङका कार्यालय सचिव दीर्घ घलेले बताउनुभयो ।

मौसम खुलेसँगै पर्यटक संख्या बढ्दै        

अहिले मौसम खुलेसँगै दैनिक पर्यटक संख्या बढिरहेको उहाँले बताउनुभयो । विशेषगरी दशैँमा पर्यटकको चाप हुने गरे पनि यस वर्षको दशैँमा पानी परेकाले आशातीत रुपमा पर्यटक आउन नसकेको तर अहिले मौसम खुलेसँगै गाउँमा आउने पर्यटक संख्यामा वृद्धि भएको घलेले बताउनुभयो ।

‘दशैँदेखि पर्यटकको आगमन बढ्छ । तर यसपालीको दशैँमा पानी पर्यो । खासै पर्यटक आएनन् । तर अहिले मौसम खुलेको छ । पर्यटकको संख्या बढेको छ,’ उहाँले भन्नुभयो ।

तिहारका लागि ‘बुकिङ’ भइसकेको उहाँले बताउनुभयो । ‘तिहारका लागि बुकिङ भइसकेको छ । तिहारमा बेलायतबाट पनि बाह्य पर्यटक आउँदै हुनुहुन्छ । तिहारमा पनि पर्यटक संख्या झनै बढ्न सक्छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार एक सय ३५ घरधुरी रहेको घलेगाउँमा हाल ४३ घरधुरी होमस्टे सञ्चालनमा छ । दुई वटा होटल छन् । एक दिनमा घलेगाउँमा होमस्टेमा ३ सय जना र होटलमा ६०/७० जना हाराहारीमा पर्यटक राख्न सकिने उहाँले बताउनुभयो ।

लमजुङको क्वहोलासोँथर गाउँपालिका ३ मा पर्ने घलेगाउँमा एक रात बसेको र खाना खाजाको गरी प्रति पर्यटक १ हजार २ सय ५० रुपैयाँ शुल्क लाग्छ ।

पहिले गरिब गाउँ, अहिले सुखी गाउँ

२०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो लमजुङको घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर माथि उक्लिएको छ । घलेगाउँका कोही होमस्टे सञ्चालनमा जुटेका छन् त कोही कृषिजन्य उत्पादनमा होमिएका छन् ।

त्यसो त ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २०५७ वैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो ।

२०६४ फागुनमा दक्षिण एसियाकै नमुना गाउँ (सार्क भिलेज) का साथै २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ । 

घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ । वैदेशिक रोजगारमा जानेको संख्या घट्दो छ । विगतमा बसाइँ सराइ गर्नेहरु गाउँ फर्कन थालेका छन् । होमस्टे सञ्चालन नगरेका स्थानीयले ग्रामीण पर्यटनलाई लक्षित गरी अन्य व्यापार, व्यवसाय तथा कृषि पेशा संचालन गरेका छन् ।

परम्परागत संस्कृतिको जगेर्ना  

स्थानीयले भेडाको ऊन, निगालो साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आय–आर्जन बढाएका छन् । अन्य परम्परागत पेशा, व्यवसायको पनि जगेर्ना गरिएको छ ।

यहाँका बासिन्दाहरु पर्यावरणसँगै परम्परागत संस्कार, संकृति जगेर्नामा लागि परेका छन् । गाउँमा सामुदायिक चिया बगान र प्राचीन सभ्यताको झल्को दिने सामुदायिक भेडीगोठ पनि सञ्चालनमा छन् । ‘अर्गानिक’ कृषि कर्मतिर गाउँलेहरु आकर्षित छन् । स्थानीय व्यस्त हुनुका साथै समयको सदुपयोग भएको र यसले नागरिकलाई स्वस्थ्य र आत्मनिर्भर बनाएको छ । यस गाउँले आर्थिक उन्नतिको पाठ समेत सिकाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया