‘विदेशबाट बिदामा स्वदेश आउ तर जागिरै छाडेर घर नआउ, देशले जागिर दिँदैन’

 कात्तिक ६, २०७९ आइतबार १७:३१:५७ | नारायण कोइराला
unn.prixa.net

तिहार सुरु भइसक्यो । के गाउँ के सहर झिलिमिली भएको छ । दशैँ मान्ने गरी घर फर्कनुभएका तपाईँहरू मध्ये कतिपय साथीहरू त विदेश फर्किसक्नुभयो होला ।

कतिपयको हिजोआजकै टिकट पनि होला । यसै त देश छाड्दा मन भारी हुन्छ । त्यसमाथि तिहार मनाउन नपाउँदाको पीडा पनि साथैमा लिएर परदेश उड्दा मन कति दुख्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । 

कतिपयले भने दशैँ तिहार दुवै मनाउन पाउनुभएको होला । तर परदेशी साथीहरू अहिले नेपालमा चाडबाड मनाउन सजिलो छैन ।  परिवार, आफन्त नातागोता सबै सँगै भएर चाडबाड मनाउन पाउँदा मन त रम्छ नि । तर यहाँ महँगीले ढाँड सेक्छ ।

अलिअलि कमाएर बचाएको पैसा पनि चाडबाड मनाउँदै सकिने अवस्था छ । किनकि हाम्रो परम्परा अनुसार गर्नै पर्छ । रीतिरिवाज मान्न पनि अहिले त निकै गाह्रो परिस्थिति छ । परदेशबाट आएका यो गरौँला त्यो गरौँला भनेर ल्याएको पैसा सकिएर कतिपय साथीहरूलाई त चिन्ता सुरु भइसकेको पनि होला । 

गाउँघरमा अहिले चुनावी माहौल पनि सुरु भइसकेको छ । सहरमा रमाएर नेताहरू गाउँ गाउँ छिरेका छन् । फेरि उही पुरानो अनुहार । उही पुरानो आश्वासन । तर गर्ने केही होइनन् भन्ने कुरा त यसअघि चुनाव जितेरै पनि प्रमाणित गरिसकेका छन् । त्यसैले पनि होला हामी परदेशीलाई बल्ल बल्ल घर आउँदा उनीहरूको कुराभन्दा परिवारको साथ नै प्यारो लाग्छ । 

परदेशी भूमिमा लामो समय काम गर्दा थाकेको ज्यानले घर आउँदा आराम नै खोज्छ । परदेशबाट आउँदा देवी देवताको मन्दिर लगायत आफैँलाई मन पर्ने ठाउँमा परिवारसँग घुम्न जाने परदेशीको इच्छा हुन्छ । 

बिदामा आएका कतिपय परदेशीहरू बचेको समयमा गर्ने कुरो भनेको परदेश छोडेर, स्वदेशमा कसरी स्थापित हुने भन्ने पनि रहन्छ । आफ्नो देशमा आउँदाको रमाइलो क्षणले देशमै बस्ने अवस्था कसरी सृजना गर्ने भन्नेबारे साथीभाइसँग सल्लाह गरेको पनि देखिन्छ । तर स्वदेशमा भएकाहरूलाई भने विदेश नै जाने चाहना व्यापक छ । अर्कोतिर विदेशको दुःख बिसाएर फर्किएकाहरूको पनि कथा व्यथा उस्तै छ । 

स्वदेशमा बस्नेहरू यहाँ कमाइन्छ बचाउन सकिन्न भन्छन् भने, विदेशबाट आएकाहरू यहाँ कसरी कमाउने भन्ने कुरामा अलमल देखिन्छन् । अहिलेको अवस्थामा सजिलै कुनै नयाँ काम सफल हुने पनि देखिन्न । सफल हुन धेरै कठिन अवस्था छ ।

परदेशमा रोजगारी गुमाएर, समस्या भोगेर र देशमै केही गर्ने सपना देखेर फर्किनेहरूलाई सरकारले कुनै सुविधा दिएको छैन ।  बैङ्कले ऋण दिँदैनन् । विदेशबाट आएको रेमिट्यान्स बुझ्न बरु चासो देखाउँछन् । यही कारणले पनि हैरान भएर देशमै केही गर्ने सपना बोकेर विदेश छाडी फर्किएकाहरू पनि फेरि परदेशीने अवस्थामा छन् । यहाँ बेरोजगार भएर दिक्क भएकाहरू त झन् परदेश उड्न खुट्टा उचालेर बसेका छन् ।  

यो अवस्थामा परदेशबाट घर आउने श्रमिक फर्केर फेरि गन्तव्यतिर जाँदा परदेशी साथीलाई के सन्देश लिएर जालान् त ? के यो अवस्थामा खाइपाई आएको परदेशको नोकरी छोडेर नेपाल कोही आउलान् त ? यो त पक्कै भन्न सकिन्न । म पनि यही भन्छु साथीभाइ बिदामा चाडपर्व मनाउन स्वदेश आउ तर हतारमा जागिरै छाडेर घर नआउ । देशले अहिले हामीलाई रोजगारी दिँदैन । 

अन्तिम अपडेट: चैत ६, २०८०

4 Comments

  • milan

    Oct. 26, 2022, 5:02 p.m.

    सहि छ लेख। पक्कै पनि देशले रोजगार दिदैन, जागिर नै छोडेर नेपाल फर्किनु भनेको दिमाग सड्किनु हो। एउटा पार्टीको झोले नभए सम्म परिवार पाल्न मुस्किल हुन्छ।

  •  0 Reply
  • Lama

    Oct. 25, 2022, 1:14 p.m.

    ५० वर्ष पुगियो ...जाम है, घर भनेको मन नै हो मेरो त /

  •  0 Reply
  • Rakesh prasad

    Oct. 24, 2022, 3:01 p.m.

    दुबई बाट आए होटल खोले व्यपार भएन भएको पूँजी पनि डुब्यो कुन ब्यबसाय चलछ सरकार बाट कुनै ग्यारेन्टी छैन बुढेसकाल मा फेरि बिदेसिने अवस्था आयो यो देशबाट निराश छु यो देश मा काम गरेर परिवार पाल्न गारो भयो मन दुखी पीडित छ ।

  •  0 Reply
  • Jetha Lama

    Oct. 23, 2022, 6:38 p.m.

    छुटी आउँदा एक बर्षासम्म कोरोनाको कारणले फर्किन नपाउदा ब्रोइलर र लोकल कुखुरा पाल्दा ५-६ महिनामै डुबेको १०-१२ लाख बल्ला तिरिसकेँ। नेपालमा त बरु लासै आओस तर जागिर छोडेर आउनेछैन। दुई नम्बरी, घुसखोरी र भ्रष्टचार गर्न सक्ने र गर्न पाउनेको लागि नेपाल स्वर्ग हो तर मेहनत र इमानदारले कमाएर खान्छु भन्नेहरुको लागि नर्ग भन्दा कम छैन। सबैले युटुब र फेसबूकमा यसो गरेँ उसो गरेँ उती कमाएँ भनेर अपलोड गर्छन् तर ऋणले टुपी भासेको कसैले अपलोड गर्दैनन। १० जनले कुनै पेशा शुरु गर्‍यो भने छ जना डुब्छन। दुइजनाले यसोतेसो गुजारा चलाउछन। दुइजनाले अली अली कमाउछन। अनी दुइजनाकोमा युटुबेहरु पुग्छन र यति कमाइ भो उती कमाइ भो भनेर भाईरल बनाउछन।

  •  0 Reply

तपाईको प्रतिक्रिया