डोटी : भोट माग्दै खेतबारीमा उम्मेदवार

 कात्तिक १५, २०७९ मंगलबार १२:५०:५ | विमल बिष्ट
unn.prixa.net

डोटी - आउँदाे मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशको चुनावमा भाग लिएका गठबन्धन दललगायत नेकपा एमाले, राप्रपाका उम्मेदवारसहित नेता कार्यकर्ता अहिले गाउँगाउँमा पुगेका छन् । यतिबेला किसानलाई आफ्नो खेतीपाती भित्र्याउन भ्याइनभ्याइ छ । नेताहरु भने मत माग्न किसानका खेतबारीमै पुग्न थालेका छन् । 

डोटीमा चार दलसहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा छ । प्रतिनिध सभा र प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा नेताहरु गाउँगाउँमा पुगेर स्थानीयसँग मत माग्न थालेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु भोट माग्नका लागि गाउँ छिरेका बेला यहाँका किसान भने आफ्नो खेतीपातीको काममा व्यस्त रहेका केआईसिंह गाउँपालिका–५ करामसिंह रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेताहरु भोटमाग्न गाउँगाउँमा आउन थालेका छन्, मतदाता जति खेतमा हुन्छन्, नेताहरु खेतमै गएर भए पनि भोट मागिरहेका छन्।’

गठबन्धनका तर्फबाट कांग्रेस, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनमोर्चाका नेताहरु संयुक्त रुपमा गाउँ अभियानमा छन् भने नेकपा एमाले, राप्रपा तथा स्वतन्त्रतर्फका उमेदवारहरु आफ्नो चुनावी अभियान लिएर गाउँ पुगेका छन् । डोटीमा सङ्घमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रेमबहादुर आले, नेकपा एमालेबाट गौरी ओली, राप्रपाका अङ्कबहादुर खड्का, राष्टिय स्वतन्त्र पार्टीका केशव बलायर, स्वतन्त्रबाट नरेन्द्र खड्का तथा राजप्रसाद जोशी चुनावी मैदानमा हुनुहुन्छ । 

यसैगरी प्रदेश सभा (२) मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवसिंह ओली, नेकपा एमालेका तर्फबाट टेकबहादुर बम, राप्रपाबाट मोहन बम चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश (१) मा गठबन्धनका तर्फबाट कांग्रेस डोटी पार्टी सभापति समेत रहनु भएका नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका चक्र मल्ल, राप्रपाका तर्फबाट नेत्रनाथ, हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्का चुनावी प्रतिसपर्धामा हुनुहुन्छ । नेताहरुलाई चुनाव लागे पनि स्थानीयलाई चुनावी रौनकताले खासै नछोएको अर्का स्थानीय भरतबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई खेती लगाउन र भित्र्याउन चटारो छ, नेताहरुलाई चुनाव लागेको छ, किसानलाई खासै चुनावले छाेएको छैन।’

यहाँका किसानहरु खेतबारीको काममा व्यस्त रहेका बेला केही उम्मेदवारहरु किसानकै खेतबारीमा उनीहरुसँगै धान चुटिरहेका र खेतमा किसानलाई सघाइरहेका तस्बिरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया