घतलाग्दा घोषणा, स्वादिला चुनाव चिह्न !

 कात्तिक २०, २०७९ आइतबार ८:३८:५७ | मिलन तिमिल्सिना
unn.prixa.net

चुनाव आएपछि रोगी मान्छे पनि निको हुन्छन्, औषधि गर्नै पर्दैन । कसरी भन्नुहोला ? घोषणापत्र पढेर ! नचाहिने कुरो, घोषणापत्र पढेर पनि बिरामी निको हुन्छ भनेर तपाई‍ँलाई लाटो रिस उठ्न सक्छ । तर रिसाइहाल्नु पहिले दलहरुका घोषणापत्र पढ्नुहोस्, तपाई‍ँको पनि मुड फ्रेस हुन्छ ।

चुड्किलाभन्दा पनि स्वादिला नारा र टुक्का । कमेडी फिल्म हेरेभन्दा पनि घतलाग्दा र हासउठ्दा कथा । भोक लाग्नेबित्तिकै अघिल्तिरै माम । बेरोजगारलाई उतिखेरै काम । बेखर्चीलाई खल्तीभरी दाम । यात्रुलाई रेल, खेलाडीलाई खेल, खेल जित्न झेल, बेमेललाई मेल, सेल पकाउनलाई तेल, सुक्खा बारीमा बाढीको भेल, अपराधीलाई जेल, नभए फेल । हेर्दाहेर्दै विकास, आयात घटेर निकासै निकास । छुमन्तर गर्ने बित्तिकै सबै नेपाली सुखी र समृद्ध ! दिउँसै सपना, सपनामै सबैथोक । यस्तो भएपछि तपाई‍ँलाई टेन्सन नै हुँदैन । टेन्सन नभएपछि पीर व्यथाले पनि छुँदैन । पीरै नपरेपछि रोग लाग्ने कुरा भएन । कथं कदाचित रोग लागिहाल्यो भने पनि दलको घोषणापत्रले निःशुल्क उपचार गरिदिन्छ । 

घोषणापत्र त यसै घतलाग्दा छन्, दलहरुका चुनाव चिह्न अझै स्वादिला छन् । यति स्वादिला कि चुनाव चिह्न सम्झन थालेपछि न भोक लागेको थाहा हुन्छ, न रोग लागेको पत्तो पाइन्छ । 

सबैभन्दा पहिले सूर्यबाट छुट्टिएर बनेको कलमको कुरा गरौँ । तपाईँलाई लाग्दो हो, डिजिटल जमानामा कलमको के काम ? तर जे छ, अहिले पनि कलममै छ । अझै पनि हाजिरी जवाफमा तरबारभन्दा कलम बलियो भनेर भट्याउनेहरु नेपालमा बलियै छन । कार्यालयमा कम्प्युटरमा काम गर्नु पर्ने भए पनि कर्मचारीले गोजीमा कलम भिरेकै हुन्छन् । विद्यार्थी र शिक्षकले कलमले नै लेख्छन् । त्यसैले नयाँ पार्टीले कलमको महत्त्व बुझ्यो । घोषणापत्र पनि कलमले नै लेख्ने हो, टाइप गर्ने बानी छैन । घोषणापत्रमा यो गर्छु, उ गर्छु भन्ने कुरा पनि कलमले लेखेर देखाउनको लागि नै हो । त्यसैले देखाउन र लेखाउन दुवैका लागि कलम नै काम लाग्छ ।  कलमभन्दा ठूलो कुरा अरु हुनै सक्दैन।

अब कलम त के, रुख र घामभन्दा पनि आफैँ ठूलो ठान्ने हँसिया–हथौडाको कुरा । हँसिया हथौडा छुन नपरे पनि यो पार्टीका मूलीहरु आफूलाई श्रमिक र दुःखीको पार्टी भन्छन् । कुरा दुःखीहरुका दुःखको गर्छन्, तर दुःखका कुरा गर्न पनि महलमा बस्छन् । बाटो छेउमा बसेर पसिना पुछ्दै गरेका श्रमिकलाई देखेर पनि नदेखेझैँ गरी चिल्लो कारमा हुइँकिन्छन् । सुकिलोमुकिलो र तडकभडकमा रमाइरहँदा हँसिया–हथौडा नै बिर्सने हो कि भनेर उनीहरुले यसलाई गोलाकारभित्र जतन गरेर राखेका छन् । चुनाव आउने बेला यही हँसिया–हथौडा देखाउँछन् । कहिले तर्साउँछन्, कहिले धम्क्याउँछन्, कहिले फकाउँछन् । हँसिया–हथौडा यसै पनि शक्तिशाली । हथौडाले हिर्काएर सूर्य त टुक्रियो भने जाबो रुखको हाँगो छिनाउन कतिबेर लाग्छ र ? त्यसैले रुखका मूली हँसिया–हथौडा रिसाउला कि भनेर निकै सचेत भैरहेका छन् । आफूलाई बलियो भन्ने रुख त तर्सनेबेला हँसिया–हथौडासँग अरु नडराउने कुरै भएन । 

कलम र हँसिया–हथौडासँगै पहिले रुखको फेदमा अडयाएर राखेको छाता अहिले घाम छेक्न पर सरेको छ । तराईको चर्को घाममा जीवन गुजार्न बाध्य नागरिकलाई शीतल दिन भन्दै खुलेको छाता बेलाबेला हराउँछ । कहिले घामसँग मिल्छ, कहिले रुखसँग । चुनावको बेला फेरि छाता फरफराउँछ।

कलम र हँसिया हथौडाको छेल परेर रुखको फेदमा बसेको गिलासको आफ्नै फूर्ति छ । सङ्घीयता बेकामे भो भनेर बेलाबेला उफ्रेर पोखिन खोज्ने गिलासलाई रुखहरुको आडमा नबसे रित्तै हुने हो कि भन्ने डर छ । त्यसैले सङ्घीयता कहिले यता र कहिले उता पर्छ, तर गिलास सधैँ गिलास भरिने दाउ ढुकेर बसिरहेको छ । गिलासलाई पूर्ण विश्वास छ, जाडो हुँदा पनि मान्छेले पानी खोज्छन् । पानी पिउन सजिलो हुने भएकाले गिलास रोज्छन् । पानी पिएपछि मान्छेले गिलास फालेर हिँडे पनि गिलास फाल्ने मान्छेको हात समाउन सकिएला भन्ने गिलासको आश मरिहालेको छैन ।

अब रुखको कुरा । रुख त यसै पनि रुख, आफ्नै हाँगा काट्ने हँसिया हथौडादेखि कलम, साइकल र गिलास पनि अहिले आड खोज्दै आफैँसँग बसेका छन । मंसिरको जाडोमा मान्छेले घाम खोजे पनि छहारी त रुखकै चाहिन्छ । चुनावमा भोट दिन जाँदा शीतल ताप्न पनि रुख, भोट दिएर फर्किदा थकाइ मार्न पनि रुखकै छाया चाहियो । मतदातालाई शीतल दिन मात्रै होइन, घरगोठदेखि देश नै बनाउन पनि रुख नै चाहिन्छ । सूर्यवालाले साँच्चै कुनै दिन रेल चलाइहाल्यो भने रेलको लिक बनाउन पनि रुखकै काठ चाहिन्छ । ठूला विकास निर्माणका आयोजना बनाउने बेला ढलान गर्दा पनि रुखकै हाँगाको टेका र फलेक चाहिन्छ । रुख नभइ त हुँदै हुँदैन । देश बनाउने भनेको रुखले हो । रुखको शक्ति कति छ भनेर जान्न रुखका जरा खोतलेर हेर्नुपर्छ । तर अहिले जरा खोतल्न नलागौँ । चुनावको बेला रुख ढल्यो भने आड लिएर बसेका हँसिया–हथौडा, कलम, साइकल र गिलासको हालत के होला ? त्यसमाथि रुखलाई सर्वस्व ठानेका मान्छेलाई कुनबेला कलम समाउने, कुनबेला साइकल चलाउने, कुनबेला हँसिया–हथौडाले हिर्काउने र कुनबेला गिलास समातेर पानी पिउने भन्ने अन्योल छ।

सूर्यको त झन् के कुरा । मंसिरको जाडोमा ताप मलिन भए पनि सूर्य दिनमा त के रातमा पनि रापिलो छु भनेर घमण्ड गर्छ । बेलाबेला ग्रहण लागे पनि सूर्यलाई आफ्नो शक्ति किञ्चित मात्रामा घटे जस्तो लाग्दैन । घामले सोच्छ कि छोडेर जानेहरुको कलम आफैँ ठुटो भइसक्यो, त्यस्ले क्यै पनि ख्याँस्दैन । आफैसँग भएको हँसिया–हथौडामा सूर्यको चमक छ, अर्कोले हँसिया–हथौडाले ठोक्दैमा टाउकोमा टुटुल्का उठ्दैन । उबेला घाममा बसेर रेल र पानीजहाजको सपना देखाइयो । दिउँसै देखेको सपना हुनाले धेरैले बिर्सिसके । जाडोको बेला पनि मान्छेहरु घाम ताप्न छाडेर रुखको छहारीतिर लाग्ने डर धेरै छ । साइकल अड्याएर रुख मुनि बस्दै, कलमले लेख्दै र गिलासमा चिया पिउँदै मान्छेहरु बस्न थाले भने सूर्यमा फेरि ग्रहण लाग्नसक्छ । त्यसैले सूर्य कतै छाता, कतै तिर र कतै हलोको साथ खोज्दैछ र आफ्नो सूर्यको किरण पनि थरीथरीलाई दिएर पोल्टो पोख्दै भुइँको टिप्दैछ ।

साइकल पनि आफूलाई वैकल्पिक साधन ठान्छ । साइकल देखाएर साइकल पार्टीका नेताहरु भन्छन, इन्धन महँगो भएको यो बेला साइकल चढौँ । तर कुरा साइकलको गरे पनि उनीहरु आफैँ साइकल चढ्दैनन्, बरु चिल्ला कारमा सयर गर्छन् । तर पनि उनीहरुलाई मधेसदेखि पहाडसम्म, पूर्वदेखि पश्चिमसम्म साइकलमै ओहोरदोहोर गर्न सकिन्छ भन्ने दरिलो विश्वास छ । 

हलो त यसै पनि किसानको साथी । हलो मेरो भन्नेले हलो नदेखेको जुग बितिसक्यो, हलो नै जोतेर निर्वाह गर्नेको हातमा पनि हलो हराउन थालिसक्यो । तर हलोवालालाई अझै पनि हलोले नै भलो गर्छ भन्ने विश्वासले छाडेको छैन । हलो छोडेर तीर समाउनेलाई पनि आफैँ बलियो छु भन्ने लागिरहेको छ ।

अरु चिह्नका पनि उस्तै फूर्ति । वैशाखको चुनावमा मान्छेले लौरो खोजे भन्दैमा अहिले पनि सकीनसकी लौरो देखाउनेहरु धेरै छन् । घण्टी पनि उसैगरी बज्न थालेको छ । अन्त हराए पनि भक्तपुरमा मादलको तालमा मर्किनेहरु घटेका छैनन् । मादल उसैगरी घन्किरहेको छ ।

चुनावको बेला मात्रै मै हुँ भनेर फूर्ति गर्ने यी चिह्नले फूर्तिवालाको निधारमा रातोटीका दल्छ कि कालो, त्यो त मंसिरको दोस्रो हप्तासम्म देख्न पाइएला ।  

अन्तिम अपडेट: माघ २०, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया