मेलम्चीको बाढीले बगाएको भैँसीको बारेमा बनाइएको वृत्तचित्रले पायाे 'स्पेशल जुरी मेन्सन अवार्ड'

 कात्तिक २०, २०७९ आइतबार १९:२२:२५ | रासस
unn.prixa.net

काठमाण्डौ – क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवम् छायाकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र 'गड्स बफेलो' (देउताकाे भैँसी) ले 'स्पेशल जुरी मेन्सन अवार्ड' प्राप्त गरेको छ । 

मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवम् छायाकार कल्पितले जानकारी दिनुभयो । यो फेस्टिबल अक्टोबर २९ देखि आज आइतवारसम्म जारी छ । 

यसअघि यो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेशनल फिल्म फेस्टिबलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाण्डौ माउन्टेन फिल्म फेस्टिबल (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यस्तै इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि प्राप्त गरेको थियो । 

इन्डियन फिल्म फेस्टिबल अफ मेलबर्नको छनोटमा परेको यो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिबलमा समेत महत्त्वपूर्ण स्थान हासिल गरेको थियो । 

१४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेशनल डकुमेन्ट्री फेस्टिबलमा छनोटमा परेको थियो । निर्देशक कल्पितका अनुसार २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा जाँदा उहाँले यो वृत्तचित्र खिच्नुभएको थियो । 

‘बाढीबाट आहत भएका स्थानीयवासीको समाचार सङ्कलन गर्न मेलम्ची पुग्दा त्यहाँ स्थानीयवासीले प्रेसको गाडीलाई रोकेका थिए । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ’, उहाँले भन्नुभयो, ‘त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ । त्यति बेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ ।’

वृत्तचित्र नै बनाउने नसोचेको भए पनि अहिले देश, विदेशमा यो वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नामसमेत राखेको कल्पितको भनाइ छ । भैँसी जोगाउनका लागि स्थानीयवासी भीमसेन माझीले एक लाख रुपैयाँ मागिरहेका थिए । होमानसिंहसँग त्यत्रो पैसा थिएन । यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ । 

४६ वर्षदेखि विभिन्न फिल्म फेस्टिबल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिबलमा यो वृत्तचित्र चयन हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि यसले महत्त्वपूर्ण योगदान दिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया