अबकाे प्रधानमन्त्री को बन्ने भन्नेमा देउवा र प्रचण्डबीच विवाद हुन्छ : ओली

 कात्तिक २१, २०७९ सोमबार १५:५५:५३ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अबकाे प्रधानमन्त्रीको विषयलाई लिएर विवाद हुने जिकिर गर्नुभएकाे छ । 

आज मङ्गलवार पोखरामा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई कलह, अस्थिरता र झमेलाको संज्ञा दिनुभयाे । गठबन्धनका ६ वटा पार्टी ६ तर्फ मुख गरेर फर्किएकाे उहाँकाे भनाइ थियाे । 

शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुन्छु भन्दा प्रचण्ड झस्किएको बताउँदै गठबन्धनलाई आफ्नो प्रधानमन्त्री को हो भन्ने नै थाहा नभएको अध्यक्ष ओलीले उल्लेख गर्नुभयाे । ‘कांग्रेसका थुप्रा मान्छेले आफू प्रधानमन्त्री भनेका छन्, माओवादीकाले आफू भनेका छन् । विभिन्न पार्टीले प्रधानमन्त्री आ–आफ्ना तोकेका छन्’, उहाँले भन्नुभयाे, ‘गठबन्धनको प्रधानमन्त्री को हो ? घोषणपत्र के हो ? केही छैन ।’

अध्यक्ष ओलीले मङ्सिर ४ गतेकाे चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी पनि गर्नुभयाे । विभिन्न सर्वेक्षणका नाममा गठबन्धनले एमालेलाई कमजोर देखाउन खोजेको भए पनि आफ्नाे पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउने उहाँकाे दाबी थियाे । एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरूलाई सरकारमा सामेल गर्ने उहाँकाे भनाइ थियाे । 

अध्यक्ष ओलीले गठबन्धनको घोषणापत्रलाई ‘कर्मकाण्ड’ को संज्ञा दिनुभयाे । देशलाई विकासको बाटोमा लैजान राष्ट्रिय शक्तिको आवश्यकता रहेको उहाँले बताउनुभयाे । गठबन्धनलाई परमादेशले बनेको सरकार बताउँदै उहाँले सरकार बनाउने नाममा संविधान कुल्चिएको आरोप पनि लगाउनुभयाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया